काठमाडौं। नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खुद नाफा बढेको विवरण सार्वजनिक गरे पनि बैंकको वितरणयोग्य मुनाफा भने अझै ऋणात्मक रहेको देखिएको छ। सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार पुस मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ९१ करोड ४९ लाख रुपैयाँ घाटामा छ।
बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८३ प्रतिशतले बढी हो। तर वितरणयोग्य मुनाफा घाटामा रहेकाले शेयरधनीलाई लाभांश वितरण गर्ने आधार बनेको छैन।
विवरणअनुसार बैंकको खुद ब्याज आम्दानी ३.९७ प्रतिशत र फि तथा कमिशन आम्दानी १७.१६ प्रतिशतले घटेको छ। कुल सञ्चालन आम्दानी समेत १.५९ प्रतिशतले घटेको छ। यद्यपि, इम्पेरमेन्ट चार्ज उल्लेख्य घटेकाले सञ्चालन मुनाफा र खुद नाफा बढेको देखिएको हो।
गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज चालु आर्थिक वर्षमा घटेर ४७ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ। यसले नाफा बढेझैँ देखिए पनि बैंकको कोर व्यवसायबाट आम्दानी सुधार भएको संकेत भने देखिँदैन।
बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४५ पैसा ऋणात्मक छ। यद्यपि प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७६ पैसा पुगेको देखिए पनि लाभांश क्षमतामा सुधार आउन नसकेको वित्तीय विवरणले स्पष्ट संकेत गर्छ।
१४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको निक्षेप ९.८७ प्रतिशत र कर्जा तथा सापटी ४.४४ प्रतिशतले बढेको छ। तर वितरणयोग्य मुनाफा निरन्तर घाटामा रहँदा बैंकको वित्तीय स्थायित्व र भविष्यको लाभांश क्षमतामाथि प्रश्न उठेको छ।






