सिटिजन्स बैंकको वित्तीय अवस्था दयनीय: नाफा ४५.७८ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानीमा सय अंकको गिरावट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको वित्तीय सूचकहरू चालू आर्थिक वर्षको पहिलो ६ महीनामा उल्लेखनीय रूपमा कमजोर देखिएका छन्। बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार साउनदेखि पुस मसान्तसम्म खुद नाफा ४५.७८ प्रतिशतले घटेर ३५ करोड ८८ लाख रुपैयाँमा सीमित भएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा ६६ करोड १८ लाख रुपैयाँ नाफा कमाएको बैंकको आम्दानी संरचना कमजोर बन्दै गएको प्रकाशित विवरणले देखाएको छ।

नाफा घट्द प्रत्यक्ष असर सञ्चालन नाफामा पनि परेको छ। गत आवको पुस मसान्तसम्म ९१ करोड १३ लाख रुपैयाँ रहेको सञ्चालन नाफा चालू आवमा झरेर ५० करोड ४१ लाख रुपैयाँमा सीमित भएको छ।

यस अवधिमा खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानीमा सामान्य वृद्धि देखिए पनि त्यसले बैंकको समग्र नाफा बढाउन सकेको छैन। त्यस्तै, खुद ब्याज आम्दानी ३ अर्ब १४ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ४ अर्ब ११ करोड ८७ लाख रुपैयाँ पुगेको छ।

तर, खराब कर्जा जोखिम, प्रोभिजन दबाब र खर्च व्यवस्थापन कमजोर हुँदा नाफा तीव्र रूपमा खस्किएको देखिन्छ।

सबैभन्दा चिन्ताजनक पक्ष बैंकको खराब कर्जा (एनपीएल) हो। एनपीएल दर ४.८५ प्रतिशतबाट बढेर ६.८६ प्रतिशत पुगेको छ, जुन राष्ट्र बैंकको निगरानी सूची नजिकको स्तर मानिन्छ। यसले बैंकको कर्जा प्रवाह नीति, असुली संयन्त्र र जोखिम व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ।

एनपीएल वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ८.९६ रुपैयाँबाट घटेर ४.६३ रुपैयाँमा झरेको छ। यसले सेयरधनीको प्रतिफल घट्नुका साथै बैंकप्रतिको लगानी आकर्षण कमजोर बनाएको देखिन्छ।

हाल बैंकको चुक्ता पूँजी १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ रहेको छ। रिजर्भ कोषमा ८ अर्ब ८२ करोड १७ लाख रुपैयाँ रहे पनि जगेडा कोष १ अर्ब १० करोड रुपैयाँ ऋणात्मक अवस्थामा रहनु बैंकको दीर्घकालीन वित्तीय स्वास्थ्यका लागि थप चिन्ताको विषय बनेको छ।

बैंकले १ खर्ब ६८ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह र २ खर्ब १० अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको भए पनि बढ्दो खराब कर्जा, घट्दो नाफा र कमजोर प्रतिफलका कारण सिटिजन्स बैंकको व्यवस्थापन क्षमतामाथि नियामक र लगानीकर्ताको चासो बढ्दै गएको देखिन्छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *