कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा ७१ लाख ४२ हजार ३४ रुपैयाँ आन्तरिक राजस्व सङ्कलन गरेको छ। नगरपालिकाको मुख्य कार्यालय र मातहतका १२ वटै वडा कार्यालयमार्फत उक्त रकम उठाइएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टका अनुसार मुख्य कार्यालयबाट २७ लाख ७६ हजार ६६० रुपैयाँ र वडा कार्यालयहरूबाट ४३ लाख ६५ हजार ३७४ रुपैयाँ राजस्व सङ्कलन भएको छ। चालु आवका लागि नगरपालिकाले तीन करोड रुपैयाँ आन्तरिक राजस्व उठाउने लक्ष्य लिएको छ।
नगरपालिकाले सम्पत्ति कर, मालपोत कर, घरबहाल कर, बहाल बिटौरी कर तथा सवारीसाधन करमार्फत उल्लेख्य रकम सङ्कलन गरेको छ। विवरणअनुसार सम्पत्ति करबाट एक लाख ६० हजार ४७४, मालपोत करबाट १२ लाख ४१६, घरबहाल करबाट सात लाख ९४ हजार ६८०, बहाल बिटौरी करबाट एक लाख ८४ हजार ६२० र सवारीसाधन करबाट ५७ हजार ५०० रुपैयाँ उठेको छ।
त्यसैगरी व्यवसाय करबाट ५९ लाख १२५, कृषि तथा पशुजन्य वस्तुको व्यावसायिक कारोबार करबाट ७५ हजार ३०० र अन्य करबाट २३ हजार ६२३ रुपैयाँ सङ्कलन भएको छ। सरकारी सम्पत्तिको बहाल तथा बिक्रीबाट दुई लाख ५५ हजार ८९५, सरकारी सम्पत्ति बिक्रीबाट ४४ हजार ५०० र अन्य बिक्रीबाट एक हजार रुपैयाँ प्राप्त भएको छ।
विद्युत् सेवा शुल्कबाट ३००, अन्य सेवा शुल्क तथा बिक्रीबाट चार हजार ६००, न्यायिक दस्तुरबाट ५०० र अन्य प्रशासनिक सेवा शुल्कबाट ९४ हजार १०० रुपैयाँ राजस्व उठेको नगरपालिकाले जनाएको छ। नक्सापास दस्तुरबाट ५९ हजार ७४२, सिफारिस दस्तुरबाट नौ लाख ६६०, व्यक्तिगत घटना दर्ताबाट एक लाख ४८ हजार ७००, नाता प्रमाणितबाट ५० हजार ४५० र अन्य दस्तुरबाट छ लाख ५४ हजार ४५८ रुपैयाँ सङ्कलन भएको छ।
व्यवसाय दर्ता दस्तुरबाट ९५ हजार ९७५, विद्युत्सम्बन्धी दस्तुरबाट २५ हजार ३००, अन्य क्षेत्रको आम्दानीबाट एक लाख ३६ हजार २७५, न्यायिक दण्ड–जरिवाना तथा जफतबाट एक हजार ३९२ र प्रशासनिक दण्ड–जरिवाना तथा जफतबाट ४२ हजार १५१ रुपैयाँ राजस्व प्राप्त भएको छ।
यसैगरी अन्य शीर्षकबाट ६६ हजार ५७७, व्यवसाय करबाट १९ लाख ४७ हजार ४८२ तथा बेरुजु फछ्र्यौटबाट ५६ हजार ३२६ रुपैयाँ सङ्कलन भएको प्रमुख प्रशासकीय अधिकृत बिष्टले जानकारी दिए। गत आर्थिक वर्षमा नगरपालिकाले तीन करोड १६ लाख रुपैयाँ आन्तरिक राजस्व उठाएको थियो।
स्थानीय राजस्व परामर्श समितिका संयोजक तथा नगरपालिकाका उपप्रमुख कल्पना पन्तले आन्तरिक आम्दानी अपेक्षाकृत न्यून रहेकाले करको दर घटाउने र करको दायरा विस्तार गर्ने नीति अपनाइएको बताए।







