काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्य बनेका छन्। आइतबार पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले शाहसहित २६ जनालाई केन्द्रीय सदस्यमा अनुमोदन गरेको हो।
संगठन विस्तार र आगामी राजनीतिक रणनीतिलाई केन्द्रमा राख्दै नयाँ केन्द्रीय सदस्यहरूलाई अनुमोदन गरेको रास्वपाले जनाएको छ । बालेन शाह केन्द्रीय सदस्यमा समेटिएसँगै पार्टीभित्र उनी बरिष्ठ नेताको हैसियतमा स्थापित भएका छन्। सभापति रवि लामिछानेले शाहको पार्टीभित्रको बरियता दोस्रो क्रममा रहने स्पष्ट पारेका छन्।
यससँगै रास्वपाको नेतृत्व संरचनामा शाह निर्णायक भूमिकामा पुग्ने संकेत देखिएको छ।
स्थानीय तहमा वैकल्पिक राजनीतिक अभ्यास र कडा प्रशासकीय कदमका कारण चर्चामा रहेका शाहको औपचारिक प्रवेशलाई पार्टीको राजनीतिक विस्तारका लागि महत्वपूर्ण मानिएको छ। विशेषगरी शहरी मतदाता, युवा वर्ग र परिवर्तनमुखी मतदातालाई आकर्षित गर्ने रणनीतिका रूपमा उनको भूमिकालाई हेरिएको छ।
तर, यस निर्णयसँगै पार्टीभित्रै पूर्व महामन्त्री स्वर्णिम वाग्लेको भूमिकाबारे प्रश्न उठ्न थालेका छन्।
प्रभावशाली नेताका रूपमा चिनिएका वाग्लेको नाम बरियता र जिम्मेवारीको सवालमा पछाडि परेको संकेतले पार्टीभित्रको शक्ति सन्तुलनमा परिवर्तन आएको चर्चा सुरु भएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार बालेन शाहलाई केन्द्रीय समितिमा उच्च बरियता दिनु आगामी निर्वाचन रणनीति र शहरी राजनीतिमा पकड बलियो बनाउने प्रयास हो। यद्यपि, यसले पार्टीभित्र नेताहरूबीचको शक्ति सन्तुलन र भूमिकाको पुनःपरिभाषा गराउने सम्भावना पनि रहेको उनीहरूको भनाइ छ।
रास्वपाले अनुमोदन गरेका अन्य केन्द्रीय सदस्यहरूको नामावली र जिम्मेवारीबारे भने पार्टीले छिट्टै औपचारिक विवरण सार्वजनिक गर्ने जनाएको छ।






