समानुपातिक सूचीप्रति तोसिमाको आपत्ति: भन्छिन् – रास्वपा पुराना दलभन्दा फरक देखिएन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तोशिमा कार्कीले समानुपातिक प्रतिनिधित्व प्रणालीको मर्ममाथि प्रश्न उठाउँदै दलभित्र देखिँदै आएको आफन्तवाद र पदको दुरुपयोगप्रति कडा आलोचना गरेकी छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै कार्कीले समानुपातिक प्रणाली भौगोलिक रूपमा पछाडि परेका, पहुँच र शक्ति नभएका तर सक्षम व्यक्तिलाई प्रतिनिधित्व गराउने उद्देश्यले बनाइएको भए पनि व्यवहारमा भने पार्टी नेतृत्वका आफन्त र ‘भाइटल पोजिसन’मा बसेकाहरूले कब्जा गर्ने प्रवृत्ति हावी भएको बताएकी छन्।

उनले कर्णाली, सुदूरपश्चिम र विपन्न समुदायलाई समेट्न बनाइएको समानुपातिक व्यवस्थालाई पार्टीका पदाधिकारीहरूले आफ्नो ‘स्पेस’ सुरक्षित गर्ने माध्यम बनाएको आरोप लगाउँदै यसले प्रणालीको औचित्यमाथि नै प्रश्न उठाएको उल्लेख गरेकी छन्। “समानुपातिक समावेशका लागि हो, निषेधका लागि होइन,” कार्कीको भनाइ छ।

रास्वपाभित्र विरोधका आवाज सुनिए पनि सचिवालय सदस्य र पदाधिकारीहरू नै लाभको पदमा रहेको, प्राइमरी भोट वा आन्तरिक प्रतिस्पर्धाबाट नआएकाहरू समानुपातिक सूचीमा पर्ने प्रवृत्ति देखिएको उनको टिप्पणी छ।

महाधिवेशनसमेत नभइसकेको अवस्थामा पदमा बसेकाहरूले समानुपातिक सूची सुरक्षित गर्ने अभ्यास पुराना दलभन्दा फरक नदेखिएको उनले बताएकी छन्।

कार्कीले पार्टी बलियो भएको दाबी गर्ने नेताहरू प्रत्यक्ष चुनाव लड्न डराउन नहुने तर्क गर्दै उदाहरणीय नेतृत्वका लागि पदाधिकारी र सचिवालय सदस्यहरूले आफ्नो नाम समानुपातिक सूचीबाट हटाएर प्रत्यक्ष चुनावमा होमिनुपर्ने बताएकी छन्।

साथै, समानुपातिक सूचीमा आफन्तवाद र नातावाद पूर्ण रूपमा निषेध गर्नुपर्ने उनको माग छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *