काठमाडौं। नेपाल राष्ट्र बैंकले २५ अर्बको ऋणपत्र जारी गर्ने भएको छ। राष्ट्र बैंक ऋणपत्र २०८३ ‘क’ बोलकबोल प्रक्रियाबाट उक्त ऋणपत्र बिक्री गरिन लागेको हो।
एक वर्षे अवधिको ‘कुल २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र धितो राखी कर्जा लिन दिन सकिनेछ। यसको ब्याजदरसमेत बोलकबोल प्रक्रियाबाटै निर्धारण हुनेछ।
बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले यस्तो ऋणपत्र खरिद गर्न सक्नेछन्। अर्धवार्षिक रूपमा ब्याज भुक्तानी हुनेछ। ऋणपत्र घटीमा न्यूनतम ५ करोड र बढीमा २५ करोड रुपैयाँको हुनुपर्नेछ।
इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रूपमा सहभागी हुन सक्ने बैंकको सूचनामा उल्लेख छ। बोलकबोल समय पुस १४ गते कार्यालय समय अवधिभर रहने राष्ट्र बैंकले जनाएको छ।







