काठमाडौं । सरकारको रवैयाले निजी क्षेत्र त्रसित बनेको भन्दै नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रतिनिधि सभामा कडा आपत्ति जनाएका छन्। उद्योगी–व्यवसायीमाथि भइरहेको धरपकड र पक्राउको घटनाले लगानीको वातावरण बिग्रिएको तथा अर्थतन्त्र झन् कमजोर बन्ने खतरा बढेको उनको भनाई छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै राईले सरकारका नीति र व्यवहारबीच गम्भीर विरोधाभास देखिएको टिप्पणी गरेका हुन्। दुई तिहाइ बहुमतसहित बनेको सरकारले आर्थिक रूपान्तरणको भरोसा दिलाए पनि व्यवहारमा निजी क्षेत्रलाई सहकार्य गर्ने वातावरण नबनाएको उनको भनाइ थियो।
अर्थमन्त्रीले उद्योगी–व्यवसायीलाई अनावश्यक दुःख नदिने र बिना कारण पक्राउ नगर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएको स्मरण गराउँदै उनले व्यवहार त्यसको ठीक उल्टो देखिएको बताए। सरकार गठनयता प्रतिष्ठित व्यवसायीहरू पक्राउ पर्ने क्रम बढेको उल्लेख गर्दै उनले यसले समग्र निजी क्षेत्रको मनोबल कमजोर बनाएको दाबी गरे।
राईले अदालतबाट छुटिसकेका उद्योगीहरूलाई उदाहरण दिँदै सरकारले पहिले थुन्ने, पछि सुन्ने शैली अपनाएको हो भन्ने प्रश्न गरे। उनका अनुसार उद्योगीमाथिको कारबाहीले निजी क्षेत्रमाथि त्रास सिर्जना भएको छ र यसले लगानी तथा आर्थिक गतिविधिमा नकारात्मक असर पारिरहेको छ।
उनले प्रधानमन्त्री कार्यालयको व्यवहार र अर्थ मन्त्रालयको सार्वजनिक धारणा एकआपसमा मेल नखाने अवस्था देखिएको टिप्पणी गरे। सञ्चार माध्यमबाट मात्रै घटनाबारे जानकारी पाउने अवस्था अर्थमन्त्रीकै लागि समेत लज्जास्पद भएको संकेत गर्दै उनले सरकारभित्र समन्वय अभाव देखिएको बताए।
सरकारले नीति, कार्यक्रम र बजेटमा निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख साझेदार भने पनि व्यवहारमा धम्क्याउने र दबाब दिने काम भइरहेको राईको आरोप थियो। उनले आगामी बजेट उत्पादनमुखी, रोजगारी सिर्जनामा केन्द्रित र निजी क्षेत्रमैत्री हुनुपर्नेमा समेत जोड दिए।






