राष्ट्रिय वाणिज्य बैंकले तीन महिना कमायो ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकको मुनाफा गत आर्थिक वर्षको तुलनामा २९५.७२ प्रतिशतले बृद्धि भएको छ । बैंकले यस अवधिमा कुल ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १५ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी पनि ३४.३१ प्रतिशतले बृद्धि भएको छ । असोज मसान्तसम्ममा बैंकले दुई अर्ब ९२ करोड पाँच लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले दुई अर्ब १७ करोड रुपैयाँको ब्याज आम्दानी गरेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालन मुनाफा पनि उच्च अंकले बृद्धि भएको छ । समीक्षा अवधिमा बैंकको सो मुनाफा २९८.८४ प्रतिशतले बृद्धि भएर ८५ करोड २४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २१ करोड ३७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

१५ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको राष्ट्रिय वाणिज्य बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३२ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *