दमक । जनप्रतिनिधिद्वारा सरकारी स्रोतसाधनको दुरुपयोगको घटना नौलो होइन । तर, सुनसरीको दुहबी नगरपालिकाकी उपमेयर मेनुका पोख्रेल खतिवडा आँफैले सरकारी गाडीको यतिसम्म्म दुरुपयोग गरेकी छिन् कि जसले जनप्रतिनिधिको नैतिक धरातलमाथि नै प्रश्न उब्जाएको छ ।
साउन १४ गते बुधबार, पोख्रेल कार्यालय समयमै नगरपालिकाको बा.२ झ. ३१९५ नम्बरको स्कारपियो गाडी लिएर मोरङको रमिते डाँडा पुगिन् । ड्राइभरसहितको गाडीमा उनीसँगै उनका केहि साथीहरु समेत गएका थिए । ‘रिल्याक्स’ हुने नाममा सरकारी गाडी लिएर रमिते डाडामा रमाइलो गरि फर्किएका उनीहरुले ‘भ्यु पोइन्ट’ मा आएर सेल्फी खिचेर सामाजिक संजालमै पोस्ट्याउन भ्याए ।
यसरी सरकारी साधन स्रोत, गाडी, र कर्मचारीसमेत कार्यालय समयमा व्यक्तिगत आनन्दका लागि प्रयोग हुनु कानुन र पदिय मर्यादाको उल्लङ्घन भएको जानकारहरु बताउँछन् । यता यस विषयमा दुहबी नगरपालिकाले भने कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
पोख्रेलमाथि यसअघि पनि कार्यालयको सवारीसाधन निजी प्रयोजनमा प्रयोग गर्दै आएको आरोप लागेको थियो। स्रोतका अनुसार उनले आफ्नो घरायसी काम लगायत आफ्ना आफन्तहरुलाई ओसारपसार गर्न कार्यालयको गाडी प्रयोग गर्दै आएकी छन्।
यस सम्बन्धमा कार्यलयमा पटक–पटक गुनासो आएको भएपनि उनका गैरकानुनी गतिविधिहरूमा नगरपालिका प्रशासन समेत मौन छ ।
यस बिषयमा उप- मेयर पोख्रेलले आफ्नो प्रतिक्रिया दिँदै भनेकी छन्,’हिजो चै म कार्यालयको गाडी लिएर घुम्न गएको कुरा सत्य हो। अहिले म पार्टीको कामले बिराटनगर एयरपोर्टमा छु , भरे आएर म तपाइलाई भेट्छु, भेटेर कुरा गरौँ।’
निर्वाचित जनप्रतिनिधि स्वयंले सार्वजनिक सम्पत्तिको खुलेआम दुरुपयोग गर्दा समेत यस्ता गतिविधिलाई नियन्त्रण गर्न नसक्नुले निर्वाचनका समयमा “गाउँ गाउँमा सिंहदरबार” भन्ने नारा जनताको लागि नभई जनप्रतिनिधिको लागि हो भन्ने कुरा प्रमाणित गरेको छ। साथै उपमेयर पोख्रेलको यस क्रियाकलापले स्थानीय तहमा संस्थागत सुशासन, पारदर्शिता र जवाफदेहिता छैन भन्ने आरोपलाई थप बल पुर्याएको छ।




