काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रसुवाको भोटेकोशी नदीमा गत भदौ १०मा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, उपचार तथा राहतका लागि प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरुप २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरेको छ ।
बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वस्थ लाभका लागि कामना समेत गरेको छ ।
अर्थ मन्त्रालयमा आज आयोजित एक समारोहका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले सहयोग रकम हस्तान्तरण गरेका हुन् । सो समारोहमा बैंकका सञ्चालक समिति सदस्य दिग्विजय विष्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको उपस्थिति रहेको थियो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ, शिक्षा लगायतका क्षेत्रमा सहयोग पुऱ्याउँदै आएको छ । भविष्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिने बैंकले जनाएको छ । साथसाथै बैंकले यस क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विधालय, वृद्धाश्रम र अनाथालयहरुलाई आर्थिक सहयोग पनि प्रदान गर्दै आएको छ ।
यस भीषण बाढीका कारण बैंकको देवीघाट शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । बैंकले तत्काल राहत पुऱ्याउने उद्देश्यले देवीघाटको विदुर नगरपालिका-५, नुवाकोटमा चामल, दाल, पिठो, बिस्कुट, तेल, नुन, सोयाबिन, आलु, चाउचाउ लगायतका खाद्य सामग्री समेत सहयोग गरेको छ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक सिटिजन्स फोनपे क्रेडिट कार्ड भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ ।
बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटीएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट २० लाख ६० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।






