अबदेखि डिम्याट खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने

काठमाडौं ।  नेपाली नागरिकले सेयर कारोबारका लागि नयाँ डिम्याट खाता (हितग्राही खाता) खोल्दा अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर प्रस्तुत गर्नुपर्ने भएको छ।

धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको नीति तथा कार्यक्रम अन्तर्गत नेप्से र सिडिएस एण्ड क्लियरिङ लिमिटेड (CDSC) लाई यस व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिने भएको हो।

बोर्डको नयाँ नीतिअनुसार, राष्ट्रिय परिचयपत्रलाई ग्राहक पहिचान प्रणाली (KYC) सँग जोडेर एक व्यक्तिको खाताको एकीकृत तथा यकिन अभिलेख तयार पारिनेछ। यसबाट एक व्यक्तिको नाममा कति खाता छन् भन्ने स्पष्ट तथ्याङ्क देख्न सकिनेछ।

धितोपत्र बोर्डले नेप्से र CDSC लाई यस प्रणाली लागू गर्न आवश्यक प्राविधिक पूर्वाधार तयार गर्न निर्देशन दिइसकेको छ। बोर्डका अनुसार, परिचयपत्र अनिवार्य गरेपछि सेयर कारोबारमा पारदर्शिता, नियमन र दोहोरो खाता रोकथाममा महत्वपूर्ण प्रभाव पर्नेछ।

यो व्यवस्था लागू भएपछि डिम्याट खाता खोल्न नागरिकता वा जन्मदर्ता प्रमाणपत्र मात्र पर्याप्त हुने प्रविधि अन्त्य हुने बोर्डको दावी छ। यसबाट कालो धन, फर्जी खाता र अवैध कारोबारी क्रियाकलापमा समेत रोक लगाउने बोर्डको लक्ष्य छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *