भदौदेखि बंगलादेश र श्रीलंकाको मुद्रा सटही दर तोकिने

काठमाडाैं । नेपाली बजारमा बंगलादेशी टाका र श्रीलंकन रूपिजको विनिमय दर तोक्ने तयारीमा राष्ट्र बैंक जुटेको छ। भदौ महिनादेखि यी दुई मुद्राको औपचारिक सटही दर प्रयोगमा ल्याइनेछ।

चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा राष्ट्र बैंकले बंगलादेश र श्रीलंकाजस्ता मुलुकहरूको मुद्रालाई परिवर्त्य विदेशी मुद्राको सूचीमा समावेश गर्दै जाने घोषणा गरिसकेको छ। त्यसअनुसार अब राष्ट्र बैंकले पहिलो चरणमा यी दुई देशका मुद्रा सटही दर तोक्ने तयारी गरिरहेको हो।

राष्ट्र बैंकका अनुसार भदौदेखि यी मुद्राको सटही दर लागु गरिनेछ भने भविष्यमा अन्य कारोबार बढी भएका देशहरूको मुद्राको दर पनि निर्धारण गरिनेछ। हाल नेपाली रूपैयाँको भारतीय रूपैयाँ (INR) सँग मात्रै स्थिर विनिमय दर तोकिएको छ । जहाँ १ सय भारतीय रूपैयाँ बराबर १ सय ६० नेपाली रूपैयाँ तोकिएको छ। अन्य विदेशी मुद्राको सटही भने बजार मूल्यको आधारमा अमेरिकी डलरको सन्दर्भमा निर्धारण हुन्छ।

बंगलादेशी एक टाका करिब १.१३ नेपाली रूपैयाँ र एक श्रीलंकन रूपिज करिब ०.४६ नेपाली रूपैयाँ बराबर पर्छ। तर सटही दर निर्धारण गर्दा यति मात्रै आधार हुदैन। विदेशी मुद्रा संकलन, भण्डारण अवधि, र सिंगापुरमा हुने सञ्चिति व्यवस्थापनको लागतसमेत जोडेर दर तोकिनेछ। अहिले नेपालमा संकलित विदेशी मुद्रा सिंगापुरमा सुरक्षित राखिन्छ, जुन मुद्रा सञ्चितिका लागि विश्वकै प्रमुख थलोमध्ये पर्छ।

यद्यपि, नेपाल र यी दुई देशबीचको व्यापार सानो रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा नेपालले श्रीलंकाबाट करिब ३० करोड रूपैयाँ बराबरको आयात र दुई करोड रूपैयाँ बराबरको निर्यात गरेको थियो। बंगलादेशसँग भने करिब चार अर्ब २२ करोडको आयात र ५५ करोड ४६ लाख बराबरको निर्यात भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *