काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आईपिओ निष्कासन रोक्न नहुने बताएका छन्। उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्न सक्ने वातावरण सुनिश्चित गर्नुपर्ने भन्दै यस्तो बताएका हुन्।
मंगलबार काठमाडौँमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को २३औं वार्षिक साधारण सभामा आफ्नो धारणा राख्दै देउवाले लगानीकर्तालाई सहज, सरल र भरोसायोग्य वातावरण दिनु जरुरी रहेको बताए।
“लगानीका लागि आउने जोसुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्छ। लगानीकर्तालाई दुःख दिने भन्ने कुरा हुँदैन,” उनले भने।
उत्पादित विद्युतको खपत र व्यापार गर्ने जिम्मेवारी सरकारको भए पनि यसमा निजी क्षेत्रको सहकार्य अनिवार्य भएको उनले बताए। “अहिले उत्पादन भएको विद्युत खपत गर्ने र व्यापार गर्ने दायित्व सरकारको हो। यसका लागि निजी क्षेत्रलाई सहभागी गराउनु जरुरी छ,” देउवाले स्पष्ट पारे।
“उर्जा नेपालको लागि अत्यन्त महत्वपूर्ण क्षेत्र हो। नेपालको प्रकृतिले दिएको यो सम्पत्तिको विकासका लागि हामी अघि बढ्नुपर्छ,” देउवाले भने, “ग्रिन इनर्जीमा ध्यान दिन सके हामीलाई राम्रो हुनेछ।” उनले नेपालको आर्थिक र सामाजिक विकासमा उदारवाद तथा निजीकरण नीतिले महत्वपूर्ण योगदान पुर्याएको समेत उल्लेख गरे।
उनले धितोपत्र बोर्डले नयाँ कम्पनीलाई आईपीओ निष्कासन गर्न दिने बिषय रोकेको सुनेको बताउँदै बोर्डले चाँडै नै निष्कासन प्रक्रिया अघि बढाउने विश्वास व्यक्त गरे। उर्जा क्षेत्रलाई नेपालको प्राकृतिक सम्पत्ति भएकाले हरित ऊर्जा (ग्रिन इनर्जी) मा बढी ध्यान दिनुपर्ने देउवाको सुझाव छ।





