काठमाडौं । फिल्म ‘प्रसाद’ र ‘प्रसाद २’ का निर्माता सुभाष थापा बैंकिङ कसुर (चेक बाउन्स) मुद्धामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतले असार २९ गते दिएको फैसलामा थापा दोषी ठहर भएका हुन्।
थापाले फिल्म निर्माणको नाममा ६२ लाख ५० हजार रुपैयाँको चेक दिएका थिए, जुन बाउन्स भएपछि पीडित केशव पाण्डेले प्रहरीमा जाहेरी दिएका थिए। पाण्डे ‘प्रसाद २’ का सह/निर्माता हुन्। उनका अनुसार निर्माण अनुमति आफ्नो नाममा नलिइ थापाले फिल्मको छायांकन पुरा गरेका थिए र त्यसपछि दिएको रकम फिर्ता गर्न इन्कार गर्दै चेक दिएका थिए। ती चेक असफल भएपछि थापाविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको थियो।
प्रहरीमा जाहेरी परेको केही समयपछि थापा अष्ट्रेलिया पुगेका थिए। अदालतको फैसलापछि पनि उनी अझै अष्ट्रेलियामै रहेको जनाइएको छ।
फिल्म ‘प्रसाद २’ रिलिजअघि नै कानुनी विवादमा फसेको थियो। हलमा लागे पनि फिल्मले बक्सअफिसमा राम्रो प्रदर्शन गर्न सकेन। त्यसका साथै, थापामाथि कलाकार तथा प्राविधिकलाई पारिश्रमिक नदिएको आरोप समेत लागेको छ। फिल्म क्षेत्रका व्यक्तिहरूले थापालाई नेपाल झिकाई कानुनी प्रक्रियाअनुसार कारबाही सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गर्दै आएका छन्।







