काठमाडौं । काठमाडौंको जग्गाको उच्च मूल्य ५० लाख रुपैयाँ प्रतिआना तोकिएको छ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको आर्थिक ऐनअनुसार जग्गाकाे मूल्य ५० लाख रुपैयाँ प्रतिआना तोकिएको हाे । जसमा मुख्य क्षेत्र मानिएको न्युरोड, दरबारमार्ग, पुतलीसडक, सिंहदरबार लगायतका जग्गाको मूल्य प्रतिआना ५० लाख रुपैयाँ छ ।
केशरमहल प्रवेशद्वारदेखि पश्चिम ठमेल मुलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको मूलबाटोमा जोडिएका जग्गाहरू, हनुमान ढोका, जिल्ला प्रहरी कार्यालय पूर्व सुरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल राष्ट्रिय नाचघरसम्म र सोदेखि पूर्व विश्व ज्योति हल हुँदै तीन धारा पाठशालासम्म मूलबाटासँग जोडिएका, महेन्द्र सालिकदेखि काठमाडौँ प्लाजासम्म मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य ५० लाख रुपैयाँ रहेको छ ।
माइतीघर, सिंहदरबार पश्चिम गेट, पुतलीसडक, कृष्ण पाउरोटी, हात्तीसार, जय नेपाल, कान्ति पथ जमल, दरबारमार्ग र घण्टाघरदेखि कमलादी मोडसम्मका मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरू ५० लाख रुपैयाँ निर्धारण गरिएको छ ।
महानगरले जमल, रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा निगम, गोश्वारा हुलाक, त्रिपुरेश्वर सम्मको मुलसडकसँग जोडिएका दायाँबायाँका जग्गाहरूको मूल्य ५० लाख रुपैयाँ निर्धारण गरेको छ । यसै गरी, रत्नपार्क, पुरानो बसपार्क, सहिद गेट हुँदै सुनधारा चोकसम्म, सिंहदरबार पश्चिम गेट हुँदै भद्रकालीसम्मका मूलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाहरू ५० लाख रुपैयाँ रहेको छ ।
पुतलीसडक कुमारी बैंक चोकदेखि पुरानो बसपार्कसम्मको (शुक्रपथ) मूलबाटो, पद्मोदय मोडदेखि सभागृह चोकसम्मको मूलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य पनि ४० लाख रुपैयाँ राखिएको छ ।
खिचापोखरीबाट दक्षिणतर्फको भुङ्ला मार्ग, गणबहाल र भोटेबहालको मूलसडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य ३६ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै नयाँसडक गेटबाट उत्तर हुँदै महाबौद्ध (चिकं अटः) गणेशस्थानसम्म (भौंसीको मार्ग) सडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य पनि ३६ लाख नै राखिएको छ । चिकंअटः देखि इन्द्रचोकसम्म (ओटु मार्ग) सडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य पनि ३६ लाख रुपैयाँ नै तोकिएको आर्थिक ऐनमा छ ।
दुगम बहिल भौंसीको दोबाटोबाट पश्चिम साविकको रञ्जना हलको गेटसम्म (प्यूखामार्ग, फसिकेव मार्ग) र नयाँ सडक पीपलबोट दोबाटोदेखि उत्तर साविकको रञ्जना सिनेमा हलसम्म (रञ्जना मार्ग) सडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य पनि ३६ लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।
त्यस्तै लैनचौर चोकदेखि, होटल ¥याडिसन, पानीपोखरी, शिक्षण अस्पताल, नारायणगोपाल चोकसम्मका मुलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य ३२ लाख रुपैयाँ तोकिएको छ । बालकुमारी पुल–कोटेश्वर–तीनकुने–मीनभवन–नयाँ बानेश्वर–बिजुलीबजार–थापाथली–त्रिपुरेश्वर–टेकुस्थित विष्णुमती पुलसम्मका मूल सडकसँग जोडिएका दायाँंबायाँका जग्गाको मूल्यांकन पनि ३२ लाख रुपैयाँ गरिएको छ ।
आर्थिक ऐनअनुसार नयाँ बानेश्वर चोकदेखि कान्तिपुर डेन्टल तथा पुरानो बानेश्वर चोकदेखि गौशाला चोकसम्मका मूलबाटोसँग जोडिएका दायाँबायाँका जग्गाको ३२ लाख रुपैयाँ मूल्य तोकिएको छ ।
माइतीघर मण्डला– पुरातत्व विभागबाट पूर्व सिंहदरबार दक्षिणगेट हुँदै हनुमान स्थानसम्मको मूल बाटोमा जोडिएका दायाँबायाँका जग्गाको मूल्य पनि ३२ लाख राखिएको छ । जिल्ला अदालत, काठमाडौं अगाडिको मूल सडकसँग जोडिएका दायाँबायाँका जग्गाको मूल्य पनि ३२ लाख रुपैयाँराखिएको छ ।
चक्रपथ जोडिएका गौशालादेखि धोबीखोलासम्मका जग्गाको मूल्य ३० लाख मूल्यांकन गरिएको छ । ५ लाखदेखि ५० लाख रुपैयाँ सम्मको जग्गा मूल्यांकन गरिएको महानगरको आर्थिक ऐनमा उल्लेख छ ।





