काठमाडौं । वाणिज्य बैंकहरुमा अग्रणी स्थान ओगट्दै आएको नबिल बैंक स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ वर्षमा प्रवेश गरेको छ ।
सन् १९८४ मा स्थापना भएको बैंकले आफ्नो सेवा र उत्पादनलाई ग्राहक केन्द्रित बनाउँदै आज नेपालको पहिलो नम्बरको बैंकका रूपमा आफूलाई स्थापित गरेको छ । यस बैंकले नेपालको वित्तीय क्षेत्रको आधुनिकीकरण, डिजिटल प्रविधिको उपयोग र मुलुकको आर्थिक वृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।
बैंकले ४१ औ बार्षिकोत्सवको अवसरमा नबिल ‘स्मार्ट नारी घर कर्जा’योजना सार्वजनिक गरेको छ । महिलाहरूलाई घरजग्गा स्वामित्वमा पहुँच बढाउन र उनीहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनका लागि उक्त योजना ल्याइएको बैंकले जनाएको छ । यस योजनाअन्तर्गत महिला आवेदकले घर खरिद गर्न सक्नेछन् ।
यस योजना अन्तर्गत महिलालाई न्यूनतम ७ लाख रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँसम्मको कर्जा ५ प्रतिशत प्रिमियम ब्याजदरमा उपलब्ध गराईने बैंकले जनाएकाे छ। साथै यस योजना अन्तर्गत ऋणीले कर्जाको किस्ता रकम छान्न सक्नेछन् भने कुनै पूर्वभुक्तानी शुल्क लाग्ने छैन ।
‘स्मार्ट नारी घर कर्जा’योजनामा ग्राहकले जीवनभर निःशुल्क क्रेडिट कार्ड लिइ दुई लाख रुपैयाँसम्मको सुविधा लिन पाउनेछन् । यस योजनालाई देशभरका सम्पूर्ण शाखामार्फत् कार्यान्वयन गर्ने बैंकले जनाएको छ ।






