काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले ऋण प्रवाह मात्रै व्यवसायिक सफलताको ग्यारेन्टी नहुने बताएका छन्।प्रतिनिधिसभाको अर्थ समितिको आइतबारको बैठकमा बोल्दै गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थामा पर्याप्त तरलता भए पनि व्यवसायी वा किसानमा सीप र क्षमता अभाव भएको खण्डमा ऋणको माग नै नआउने बताए।
“मृगको सङ्ख्या नबढाई बाघको सङ्ख्या बढ्दैन,” भन्ने उदाहरण दिँदै उनले भने, “ऋण दिँदैमा व्यवसायी सफल भएर निस्किँदैन।” उनले मुलुकको आर्थिक विकासको अगुवाई गर्न वित्तीय नीतिले नेतृत्व लिनुपर्नेमा जोड दिए। “देशको विकासलाई अघि बढाउने भनेको वित्तीय नीतिले नै हो। वित्त नीतिले लिड लिए मात्रै हामीले कदममा कदम मिलाउने हो,” गभर्नर पौडेलले भने।
पौडेलले केन्द्रीय बैंक परम्परागत रूपमा बैंकको ब्यालेन्स सिट हेर्ने निकायका रूपमा सीमित रहेको उल्लेख गर्दै पछिल्लो सय वर्षमा मात्रै अर्थशास्त्रीय हस्तक्षेप गर्न थालेको बताए।
उनले पछिल्ला तीन दशकमा बैंकबाट ऋण प्रवाहका विविध प्रयोग गरिए पनि, त्यसको प्रभावकारिता व्यवसायीक सफलता र उत्पादनमा निर्भर रहने स्पष्ट पारे।






