काठमाडौं । पशुपति एग्रो एण्ड फुड इन्डष्ट्रिजले चालु आर्थिक वर्षको ९ महिनामा एक अर्ब रुपैयाँ बढीको व्यापार गरेको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिसम्ममा एक अर्ब रुपैयाँ बढीको व्यापार भइसकेको जनाएको हो ।
गत आर्थिक वर्षमा कम्पनीको कारोबार ४९ करोड ६० लाख रुपैयाँमा सीमित थियो । तर, यो वर्ष भने व्यापार निकै बढाएको देखिन्छ ।
कम्पनीले विशेषगरी धान आयात गरेर प्रशोधन गर्दै नेपाली बजारमा विभिन्न ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले माइजु, सुनचरी, हिमानी, सनराइज, डबल सूर्यजस्ता ब्रान्डमा प्रशोधित चामल बिक्री गर्दै आएको छ ।
सन् २०२१ बाट नन स्टिम प्लान्ट मात्रै सञ्चालनमा ल्याई व्यवसायिक कारोबार सुरु गरेको कम्पनीले सन् २०२४ बाट अर्को प्लान्ट सुरु गरेको थियो । कम्पनीले सन् २०२५ को ९ महिनाको अवधिमा एक अर्बभन्दा बढी चामलबाट मात्रै गरेको उल्लेख गरेको छ । बाँकी आम्दानी भुस, कनिका, ब्रान र सोना धानबाट गरेको कम्पनीले जनाएको छ ।






