काठमाडौं । प्रभु बैंक लिमिटेडकी संचालक अम्बिका शर्मा लामिछानेले आफ्नो निजी कम्पनी ‘सरस्वती इभेन्ट्स प्रालि‘का नाममा करोडौं रुपैयाँ लिँदै आएको तथ्य भेटिएको छ। लामिछानेले उक्त कम्पनीद्वारा संचालित नेपालखोज डटकम नामक अनलाइन पोर्टलको विज्ञापनका नाममा बैंकबाट करोडौं रुपैयाँ लिएको तथ्य भेटिएको हो।
लामिछानेले बैंकको संचालक नरहँदा र हाल रहँदा समेत बैंकबाट उक्त कम्पनीका नाममा विभिन्न शिर्षकमा रकम लिने गरेको प्रमाण अर्थासंजल डटकमले फेला पारेको छ। लामिछानेले बैंकको संचालक जस्तो महत्वपूर्ण पदमा रहेर बैंकको साधन स्रोतको चरम दुरुपयोग गर्दै आएकी छन् । लामिछाने यसअघि पनि बैंकको संचालक समिति सदस्य थिइन्। नेपाल राष्ट्र बैंकले कारबाही गरेपछि उनले बैंक छोडिन्। उक्त समयमा पनि लामिछान्नेले बैंकबाट विज्ञापन तथा विजनेस प्रमोशनका नाममा रकम लिँदै आएको भेटिएको छ। लामिछानेले बैंकबाट मासिक पाँच लाख पैंसठी हजार रुपैयाँ सोहि कम्पनीका नाममा लिने गरेको तथ्य हामीले यसअघि पनि उजागर गरिसकेका छौँ।
बैंककी संचालक लामिछानेले कम्पनी खोलेदेखि बैंकबाट नियमित रुपमा अप्रत्यासित रकम लिने गरेको पाईएको छ। बैंक तथा प्रभु समूहका अन्य सार्वजनिक सँस्थाहरुबाट समेत उनले विज्ञापनका नाममा मोटो रकम लिँदै आएको तथ्य भेटिएको छ।
लामिछानेले 2020-09-11 मा बिजनेश प्रमोसनका नाममा १० लाख रुपैयाँ लिएकी छन्। त्यस्तै 2021-04-13 मा फेरि अर्को ५ लाख रुपैयाँ एडभान्स लिएकी छन्। त्यसको ३ दिन पछि लगतै अर्थात् 2021-04-16 मा फेरि बिल नम्बर ११२ बाट अर्को १ लाख पन्ध्र हजार रुपैयाँ लिएको देखिन्छ।
त्यसैगरी, उनले 2021-10-10 देखि 2022-07-20 सम्म लगातार १५२,०४४.५५ रुपैयाँ लिएकी छन्। त्यसपछि उनले २ वटा बिलमार्फत् 2022-11-24 मा १३,३८००० (अक्षरुपी तेह्र लाख ३८ हजार) रुपैयाँ लिएकी छन्।
त्यसपछि उनले 2023-01-25 मा फेरि दुईवटा बिलमार्फत् ८९२,००० (अक्षरुपी आठ लाख बयानब्बे हजार) रुपैयाँ निकालेकी छन्। त्यसको १० दिनपछि अर्थात् 2023-02-05 मा फेरि अर्को बिलबाट ४,४६००० (अक्षरुपी ४ लाख छयालीस हजार) रुपैयाँ लिएकी छन्।
त्यस्तै उनले 2023-04-21 मा फेरि अर्को ८९२,००० र 2023-07-12 मा पुन: २ पटकसम्म ८९२,००० (अक्षरुपी आठ लाख बयानब्बे हजार) रुपैयाँ निकालेकी छन्। भने 2023-10-17 मा पुन: अर्को ८९२,००० (अक्षरुपी आठ लाख बयानब्बे हजार) बुझेकी छन्।
त्यसपछि 2024-0८-06 सम्म लगातार ४,४६००० (अक्षरुपी ४ लाख छयालीस हजार) रुपैयाँ लिँदै आएकी उनले 2024-09-25 मा एउटा बिल बाटै ११,१५००० (एघार लाख पन्ध्र हजार) रुपैयाँ निकालेकी छन्। त्यसपछि उनले नियमित रुपमा हरेक महिना मासिक ५ लाख ६५ हजार अर्थात् टिडीएस कट्टा पछि ५लाख सन्ताउन्न हजार रुपैयाँ लिँदै आएकी छन्। उनले सो रकम अघिल्लो कार्यकाल संचालक हुँदादेखि नै निरन्तर रुपमा लिंदै आएकी छन्। जबकी बैंकको संचालक समिति सदस्यले बैंकबाट बैठक भत्ता बाहेक कुनैपनि सेवा सुविधा लिन नपाईने कानूनी व्यवस्था छ।

के छ कानूनी व्यवस्था ?
नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिका नम्बर (६) मा भएको सँस्थागत सुशासन सम्बधि व्यवस्थाको (५) मा पदको दुरुपयोग गर्न नहुने व्यवस्थाअनुसार-‘ सञ्चालकले आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत फाइदा हुने क्रियाकलापमा संलग्न हुन पाइने छैन । इजाजतपत्रप्राप्त संस्थाका सञ्चालक र निजका परिवारले समेत निज बहाल रहेको इजाजतपत्रप्राप्त संस्थासँग कारोबार गर्दा पारिवारिक सम्बन्धलाई जोड्न पाइने छैन । परिवारको विवरण खुलाई त्यस्ता परिवारले इजाजतपत्रप्राप्त संस्थाबाट कर्जा लिने भएमा सो सम्बन्धी छलफल र निर्णयमा भाग लिन पाइने छैन । साथै, सामानहरुको खरिद बिक्री गर्दा सेयर लगायत अन्य प्रत्याभूतिहरुको कारोवारमा प्राथमिकता पाउन वा दिनका लागि पदको उपयोग गर्न पाइने छैन । यसैगरी सुन, चाँदी, विदेशी विनिमय र विदेशी सुरक्षणपत्रहरुको सट्टापट्टा गर्दा पदीय प्रभाव पार्न पाइने छैन।’
यस सम्बन्धमा राष्ट्र बैंकका प्रवक्ता तथा सुपरिवेक्षण विभागका प्रमुख रामु पौडेलले अविलम्ब छानबिन गरी आवश्यक कारबाही गर्ने बताएका छन्। उनी भन्छन्, ‘यदि बैंकभित्र यस्ता किसिमका अनियमितता र वित्तीय अपराध भएको भेटिएमा सम्बन्धित बैंक तथा व्यक्तिमाथि समेत कडाभन्दा कडा कारबाही हुन्छ।’ अपराध गर्ने संचालक या व्यवस्थापक जो कोहि भएपनि त्यस्ता व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याईने र दोषी भेटिए संचालक समितिबाटै हटाईने उनको भनाइ छ।
अघिल्लो पटक संचालक हुँदा पनि पटकपटक नेपाल राष्ट्र बैंकको कारबाहीमा परिसकेकी लामिछानेले अनियमिताको बिषय सार्वजनिक भएपछि उक्त अनलाइन पोर्टल आफ्नो नभई छोरा सुवास शर्माको भएको बताएकी छन्।
छुटाउनु भयो कि ?




