काठमाडौं । सरकार र शिक्षक महासंघबीच निर्णायक वार्ता आज हुने भएको छ । सोमबार र मंगलबार राति अबेरसम्म चलेको वार्ता सकारात्मक बनेपछि आज दिउँसो २ बजे पुनः बस्ने वार्तालाई अन्तिम रुप दिने तयारी गरिएको हो ।
शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार महासंघ सरकारको व्यवहार अनुसार प्रस्तुत हुने रणनीतिमा अघि बढ्ने निर्णयमा पुगेको छ । ‘सरकारले अझैसम्म शिक्षा ऐनप्रति विश्वासिलो आधार प्रस्तुत गर्न सकेको छैन,’ पराजुलीले भनिन्, ‘तर हामी छलफलमा जानेछौं, ऐन जारी हुने स्पष्ट समयसहित विश्वसनीय आधार भएमा हामी पनि सकारात्मक रुपमा प्रस्तुत हुनेछौं।’
यसअघि मंगलबार राति भएको वार्तामा महासंघले ९ बुँदे प्रस्ताव पेस गरेको छ । सो प्रस्तावमाथि आज छलफल हुने बताइएको छ । मन्त्रिपरिषद्बाट ९ बुँदे पास भएमा आन्दोलनको मोडालिटी फेर्ने महासंघका नेताले बताउँदै आएका छन् ।
मंगलबार रातिको बैठकपछि शिक्षामन्त्री रघुजी पन्तले वार्ता सकारात्मक भएको र आज टुंगोमा पुग्ने बताएका थिए ।
शिक्षक महासंघको ९ बुँदे प्रस्तावमा विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलब,सामाजिक सुरक्षा कोष,दुर्गम भत्ता,ग्रेड समायोजन,मर्यादा क्रम,अस्पतालमा शिक्षकको उपचारमा छुटको व्यवस्था,निमावि प्रथम र ममावि द्वितीयको तलबम, प्रधानाध्यापकको विषय, राहत शिक्षक लगायतका विषय समेटिएको छ ।
ऐनमा समावेश नगरी मन्त्रिपरिषद्बाट हुने निर्णय भएमा र ऐन जारी गर्ने समय तोकेमा आन्दोलनको स्वरुप परिवर्तन गर्ने महासंघले बताएको छ ।






