चितवन । पछिल्लो समय निरन्तर घटेको अण्डाको मूल्य विस्तारै उकालो लाग्न थालेको छ । जसले अण्डा उत्पादनमा संलग्न किसानहरूलाई केही राहत पुर्याएको छ ।
नेपाल लेयर्स कुखुरापालक संघका अनुसार ३० वटा अण्डा अट्ने एक क्रेटको मूल्य आजदेखि यसरी निर्धारण गरिएको छ:
एक्सएल अण्डा: रु. ४५०
ठूलो अण्डा: रु. ४३०
मझौला अण्डा: रु. ३८०
गत वर्ष प्रतिक्रेट मूल्य रु. ५२५ पुगेकोमा केही महिनाअघि घटेर रु. ३५० सम्म झरेको थियो । अहिले फेरि मूल्य बढेर किसानहरूमा उत्साह बढेको छ ।
संघका अध्यक्ष विनोद पोखरेलका अनुसार अण्डाको मूल्य बढ्नुमा मुख्य कारण भनेको गर्मीका कारण अण्डा उत्पादन घट्नु र बजारमा माग बढ्नु हो ।
नेपालमा प्रतिगोटा अण्डाको लागत मूल्य औसत रु. १६.५६ पर्ने हुँदा मूल्यवृद्धिले किसानलाई उत्पादन लागत उठाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । हाल दैनिक करिब ३० लाख अण्डा उत्पादन हुँदै आएको छ । उत्पादन घट्दो क्रममा रहेकाले आगामी दिनमा मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ ।






