गुण एयरलाइन्सले रिब्राण्डिङपछि आक्रामक रुपमा सेवा विस्तार गरेको छ । गुण एयरलाइन्सको नामबाट १ भदौबाट औपचारिक सेवा सुरु एयरलाइन्सले दैनिक उडान क्षमता र गन्तव्य समेत विस्तार गर्ने भएको छ ।
यसले दैनिक उडान क्षमता बढाउदै ३० वटा पुर्याउने भएको छ । कम्पनीले यही कात्तिक १५ गते भित्रै पूर्ण क्षमतामा जहाज उडान गर्ने र गन्तव्य पनि ११ वटा पुर्याउने जनाएको छ । हाल ९ गन्तव्यमा उडान सेवा दिइरहेको एयरलाइन्सको एक साताभित्रै एक र अर्को साता थप एक गन्तव्यमा उडान विस्तार गरी ११ स्थानमा उडान हुनेछ ।
एयरलाइन्सले हाल काठमाडौंबाट भरतपुर, विराटनगर, जनकपुर, नेपालगन्ज, पोखरा, भद्रपुर, भैरहवा र तुम्लिङटारमा उडान भरिरहेको छ । यसले अझै सुर्खेत र सिमरामा सेवा विस्तार गर्ने तयारी गरिरहेको छ ।
एयरलाइन्सले सुर्खेतमा यहि साता भित्रै उडान गर्ने भएको छ भने सीमरामा दुई सातापछि उडान गर्ने गरी तयारी एयरलाइन्सका बजार निर्देशक तथा प्रवक्ता प्रज्ज्वल थापाले जानकारी दिए । उनका अनुसार गुणले आन्तरिक उडानका सबैजसो सहरी क्षेत्रका विमानस्थलमा उडान गर्नेछ ।
१८ सिट क्षमताका दुई वटा बीचक्राफ्ट मात्रै जहाज रहेको एयरलाइन्सले पाँच वटा २९ सिट क्षमताको जेटस्ट्रिम जहाज थपेर सेवा संचालनमा ल्याएको भन्दै थापाले चारवटा जेटस्ट्रिम र एक बीचक्राफ्ट जहाज नियमित उडानमा रहेको बताए । उनले छिट्टै थप दुई वटा जहाज पनि उडानमा आउने जानकारी दिए ।
दशैंको छेको पारेर उडान सेवा सुरु गरेको एयरलाइन्समा सुरुका दिनदेखि नै ९० प्रतिशत यात्रुको चाप रहेको थापाले बताए ।






