विगत केही समयबाट नेपाली सञ्चार माध्यममा नेपाली कथानक चलचित्र “ए मेरो हजुर ४” को चर्चा र विरोध चौतर्फी भइरहेको छ । आउँदो बैशाखको पहिलो हप्ताबाट सार्वजनिक हुन गइरहेको यस चलचित्रले आफू अब्बल छु भन्ने कुरा प्रमाणित गर्न खोज्दैमा केही समय बितेको छ ।
“ए मेरो हजुर ४” सँगसँगै भारतीय दक्षिण चलचित्र “केजिएफ २” पनि सार्वजनिक हुने भएकाले उक्त चलचित्रलाई राम्रो छ भनेर प्रमाणित गर्न निर्देशक र नायिका, नायक पछि नपरेको भन्ने देखिन्छ ।
चलचित्र राम्रो बनेको खण्डमा नेपाली दर्शक हलसम्म पुग्छन् भन्ने इतिहास विगतका केही चलचित्रले प्रमाणित पनि गरिसकेको छ ।
विगतको “ए मेरो हजुर ३” ले आशाजनक सफलता पाएको थियो । तर यसपटक भने “ए मेरो हजुर ४” र “केजिएफ २” सँगसँगै आउने भएपछि “ए मेरो हजुर ४” का निर्देशक केही हच्किएको देखिन्छ ।
केही दिन यता गायक दुर्गेश थापाको सिनलाई “ए मेरो हजुर ४” बाट हटाइएको भन्ने खबर व्यापक भएको थियो । तर गायक र निर्देशकले नहटाएको भनेर स्पष्ट पारिसकेका भए तापनि दर्शकले सहजै पत्याउन नसक्ने अनुमान रहेको छ । किनकि नायक पल शाह प्रकरणमा दुर्गेश पनि मुछिएका कारणले चलचित्रलाई असर गर्छ भन्ने सोच निर्मातामा आउनु सामान्य नै हो ।
“ए मेरो हजुर ४” ले ट्रेलर र आफ्नो चलचित्रको गीत सार्वजनिक गरेको धेरै पछि आफ्नो अर्को र्याप गीत पनि सार्वजनिक गरेको छ । जीबब भनिने सन्दीप भण्डारीको स्वरमा रहेको “भाग भाग नदे अब धेरै धाक” बोलको र्याप रिलिज डेट नजिकै हुँदा सार्वजनिक गर्यो ।
जीबब एनटिएफको र्याप ब्याटलबाट एकाएक चर्चामा आएका हुन् । एनटिएफको र्याप ब्याटल हुँदा “ए मेरो हजुर ४” को लगभग सुटिङ अन्तिम तयारीमा थियो । तर बीचमा एकाएक अर्को गीत राखिएको हो कि पहिलेको नै हो भन्ने निर्देशकले खुलाएका छैनन् ।
चलचित्रको र्यापमा नायिका सुहाना थापाले आफ्नो माझी औँला देखाएकी छिन् । भिडियोमा १ः४३ देखि १ः४६ मिनेटसम्ममा उक्त दृश्य समेटिएको छ । यसबारे बुझ्दा नेपाल सरकारका सहसचिव एवं प्रवक्ता विनोद प्रकाश सिंहले समाजमा अपाच्य, भ्रमित तथा अश्लील दृश्य चलचित्रमा समावेश गर्न नपाइने बताए । तर सेन्सर बोर्डले कसरी पास गर्यो भन्ने प्रश्नमा हामी छानबिन पुनः गछौँ भन्ने जवाफ दिएका छन् ।






