काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। जस अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९२.०३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.४० प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४७.७२ प्रतिशत घटेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १५.०३ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४८ करोड रुपैयाँबाट बढेर २ अर्ब ३५ करोड ९६ लाख रुपैयाँ पुगेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा ९०.४० प्रतिशत घटेको छ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ५६ पैसा घटेर २ रुपैयाँ ३ पैसामा सीमित भएको छ। बैंकको प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ९२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८५.११ गुणा रहेको छ। त्यस्तै बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब ७५ करोड ७१ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले ३ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।




