


काठमाडौं । प्रतिनिधिसभाका विपक्षी दलहरूले ओली सरकार बनेपछि भ्रष्टाचारका फाइनल बन्द गरी भ्रष्टाचारीलाई जोगाउन आरोप लगाएका छन् । सरकारबारेको साझा धारणा सार्वजनिक गर्दै विभिन्न सात विपक्षी दलले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउन उद्यत रहेको आरोप लगाएका हुन् ।
नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीले सरकारबारे साझा धारणा सार्वजनिक गरेका हुन् ।
उनीहरुले भने- ‘देश र जनताको हित प्रतिकूल सरकारका निरङ्कुश गतिविधिका कारण आम जनतामा राज्य र सरकार प्रति चरम निराशा उत्पन्न भइरहेको छ । सरकारले भ्रष्टाचार विरोधी अभियानलाई पूरै अवरुद्ध गरेको छ ।’
‘सरकार भ्रष्टाचारी जोगाएको लागिपरेको छ। भ्रष्टाचार बढाएको छ,’ विपक्षी दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भने, ‘सत्तारुढ दलका भ्रष्टाचारमा मुछिएका नेता तथा कार्यकर्तालाई यो वा त्यो बहानामा उन्मुक्ति दिने प्रपञ्च भइरहेको छ ।’
‘विगतमा अघि बढाइएका गिरिबन्धु टी स्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, बालमन्दिर तथा स्काउटका जग्गालगायतका भ्रष्टाचारका फाइलहरू बन्द हुन पुगेका छन्।’ प्रचण्डले भने
विपक्षी दलहरूले वर्तमान सरकार बनेपछि विगतको सरकारले अगाडि अनुसन्धान अगाडि बढाएका भ्रष्टाचारका विभिन्न काण्डका फाइल बन्द गरेको समेत बताएका छन् ।

अर्थ सन्जाल