काठमाडौं। नेपालको सबैभन्दा ठूलो अनलाइन मार्केटप्लेस हाम्रोबजारले फोनलोनसँगको सहकार्यमा बाइ नाउ, पे लेटर फिचर सार्वजनिक गरेको छ ।
फिचरलाई हाम्रोबीएनपीएल नाम दिइएको छ। अब हाम्रो बजारबाट सामान खरिद गर्न चाहने फोनलोनका योग्य ग्राहकहरुले हाम्रो बजारबाट मासिक किस्ताबन्दीको सुविधामा सामान किन्न सक्ने छन् । किस्ताबन्दीको सुविधाले हाम्रो बजारलाई अझ सहज र किफायती बनाउन सघाउने हाम्रो विश्वास छ ।
कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका फोनलोन प्रयोगकर्ताहरुले किस्ताबन्दीको सुविधा आआफ्नो मोबाइल बैंकिङ एपबाटै सजिलै प्रयोग गर्न सक्छन् ।
हाम्रो बीएनपीएलमार्फत ग्राहकहरुले ६ महिनासम्मको किस्ताबन्दी सुविधामा कुनै ब्याज तिर्नुपर्दैन । ९ देखि १२ महिनाको स्ट्यान्डर्ड इएमआई लिने प्रयोगकर्ताहरुले भने डाउनपेमेन्ट बिना नै सुविधा उपभोग गर्न सक्छन् । हाम्रो बजारको हाम्रोबीएनपीएलमा २५० भन्दा बढी प्रडक्ट उपभोक्ताहरुले छनोट गर्न सक्छन् ।
आफूलाई आवश्यक परेको वा मनपरेको प्रडक्ट फोनलोन प्रयोगकर्ताहरुले आफ्नो मोबाइल बैंकिङबाटै क्यूआरकोड स्क्यान गरेर किस्ताबन्दीमा किन्न सक्छन् ।
फोनलोनका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले भने- ‘हाम्रोबीएनपीएल भुक्तानीको माध्यम मात्रै होइन । यो नेपाली उपभोक्ताहरुका लागि इ-कमर्समा गेमचेन्जर फिचर हो । हाम्रोबजारसँगको सहकार्यमा हामीले हाम्रा ग्राहकहरुलाई तत्काल सबै पैसा भुक्तानी गर्नुपर्ने बाध्यताबाट छुट्कारा दिँदै तनावविना सामान खरिद गर्ने वातावरण सृजना गर्न खोजेका हौं । यसले हाम्रा ग्राहकहरुलाई फाइनान्सियल फ्लेक्जिबिलिटी प्रदान गर्छ ।’




