‘हनी ट्र्याप’ पछिल्लो समय निकै चर्चित नाम हो यो । ठूला व्यवसायीक घरानाका व्यक्ति तथा उच्च ओहदामा रहेकाहरूसँग अनेक बहानामा नजिक हुने, उसका गोप्य सूचना लिने,आफ्नो सौन्दर्यमा लोभ्याएर आफूप्रति आकर्षित गर्ने र अन्तत: मोटो रकमको बार्गेनिङ्ग गरि ट्रयापमा पारेर फसाउने गरेको पाइन्छ । हाल नेपालमा पनि ‘हनी ट्रयाप’मा पारेर ठगी गर्ने प्रचलन निकै बढेको छ ।
तर नेपाली समाज अझै त्यति उदार बन्न नसक्दा यस्ता घटनामा परेर ठगिएकाहरु पनि सामाजिक प्रतिष्ठा गुम्ने र इज्जत जान्छ भन्ने डरले खुलेर भन्ने हिम्मत गरेको देखिँदैन । जसका कारण यस्तो किसिमको अपराध गर्भमै रहने गरेको छ।
यसरी ‘ईजी मनी’ अर्थात बिना श्रम अर्थोपार्जन हुने भएपछि मानिसहरु आफ्नो ज्ञान,सीप र कलाअनुसारको उपलब्ध भएको श्रम गर्नुको सट्टा सजिलै पैसा कमाउने उपाय रोज्न थालेको देखिन्छ । गलत सोच र खराब मानसिकता भएका व्यक्तिले जीविकोपार्जन र अर्थोपार्जनको सजिलो माध्यमका रुपमा हनी ट्रयापको प्रयोग गर्ने गरेका छन् । जुन सामाजिक आपराध हो ।
हाम्रा समाजमा यस्ता धेरै उदाहरण छन् । सम्पत्ति कुम्ल्याउन पटकपटक विवाहको नाटक मञ्चनदेखि सम्बन्धविच्छेदसम्म, सहमतिमै शारीरिक सम्बन्धदेखि बलात्कारको मुद्दासम्मका घटनाहरु बाक्लिन थालेका छन् ।
‘हनी ट्र्याप’मा मानिसहरु कसरी फस्न पुग्छन् भन्ने उदाहरणलाई प्रस्तुत गरौँ।
केहि समयअघि एकजना अन्दाजी ४० वर्षकी महिला वर्षा (नाम परिवर्तन) आफ्नो कोहि नजिकका व्यक्तिलाई माध्यम बनाएर नेपालका एक प्रतिष्ठित व्यक्ति मौसम (परिवर्तित नाम) को कार्यालयमा पुग्छिन् । आफू योग्य हुँदा हुँदै पनि जागिर नपाएको गुनासो मौसमसामु पोख्छिन् । मौसमले वर्षालाई एक अर्काको कामको प्रकृति नै फरक रहेको बताउँछन् । प्रतिष्ठित व्यक्ति भएकै कारण मौसमलाई वर्षाले तपाईले चाहनुभयो भने सम्भव छ भन्दै बिन्ती गर्छिन् ।
मौसमले तत्काल आफ्नो कार्यालयमा कुनै काम नभएको तर कुनै एनजीओ या आईएनजीओमा काम लगाईदिने आश्वासन दिन्छन् ।
त्यसपछि सुरु हुन्छ ‘हनी ट्र्याप’को जालो । मौसमको आश्वासनपछि उनको कार्यालयमा मौसमको आवतजावत बाक्लिन थाल्छ ।
सदाझैँ वर्षा मौसमको कार्यालय पुग्छिन् । विगतमा दूरी बढाएर कुरा गर्ने वर्षा त्यो दिन मौसमको नजिकै बसेर उहीँ प्रश्न गर्छिन्, ‘मलाई कहिले जागिर लगाइदिनुहुन्छ ? ।’ घडीमा करिब साढे पाँच बजेको थियो । कार्यालय समय सकिसकेकोले सबै कर्मचारी आ-आफ्नो घर लागिसकेका थिए ।
एउटी अधवैंशे महिलाले आफ्नो नजिककै बसेर सांकेतिक रुपमा आफूप्रति आकर्षित भएको आभाष दिलाएपछि मौसमको पुरुषत्व सल्बलाउन थाल्छ । उनी पनि ‘के खोज्छस कानो, आँखो’ भनेझैँ वर्षासँग अझ नजिक हुन पुग्छन् । उनको हातहरु वर्षका गोप्य अंगमा सुमसुम्याउन थाल्छन् । वर्षाले त्यो दिन आपत्ति जनाएझैँ गर्छिन् र बाटो बाहिर निस्कन्छिन् ।
साँझ वर्षालाई मौसमले कल गर्छन् र सोध्छन्,- ‘आजको प्रोगाम तिमीलाई कस्तो लाग्यो ?’
वर्षाले यो बारेमा आफूले केही नसोचेको बताउँछिन् । तर उनले आपत्ति भने जनाउँदिनन् । मौसम हेर्दा ५० वर्ष नाघेका । प्रतिष्ठित र उच्च ओहोदामा काम गर्ने । सालिन सुटबुट लगाएर हिड्ने चिल्लो गाडीमा हिड्ने । माथिल्लो ओहदाका मान्छेसँग उठबस गर्ने । सबैको सम्मान पाउने व्यक्ति । उनको यो व्यक्तित्वले वर्षा झनै आकर्षित भइन्।
त्यो दुईबीच साँझ खासै कुरा भएन । भोलिपल्ट पनि उहीँ समय (कार्यालय समय सकिने बेला) वर्षा फेरि मौसमको कार्यालय पुग्छिन् । सदाझैँ त्यो दिन पनि कार्यालयका कर्मचारी आ- आफ्नो घर लागिसकेका हुन्छन् ।
वर्षाले अघिल्लो दिननै उनको प्रस्तावलाई मौन समर्थन गरिसकेकी थिइन् । जसले मौसमलाई सम्बन्धका बारमा कुरा गर्न असहज भएन । प्रस्ताव गर्छन्, वर्षाले पनि स्वीकार्छिन् र सहमतिमै उनीहरुबीच शारीरिक सम्बन्ध हुन्छ । अझ भनौँ जागिरका लागि आफ्नो शरीर मौसमलाई सुम्पिन्छिन् ।
त्यसपछि उनीहरु लाजिम्पाटस्थित एक कफी सपमा पुगेर कफी खान्छन् र छुट्छन् । जागिरका लागि पुगेकी वर्षा मौसमसम्म अति नै नजिक हुन्छिन् । उनीहरुको सम्बन्ध प्रेमी प्रेमिकाको रुपमा परिणत हुन्छ ।
अब त आउनेजाने र भेट्ने क्रम नचल्ने कुरै भएन । मौसमले वर्षालाई आफ्नै कार्यालयमा जागिर पनि लगाईदिन्छन् ।
समय राम्रै चल्दै थियो । एकदिन वर्षाले फेरि पहिलेझैँ प्रश्न गर्छिन्, ‘खै त मलाई एनजीओ, आइएनजीओमा जागिर लगाइदिनुभएको ?’ मौसमले जागिर खाँदै छौं त यहिँ काम गर न भनेपछि सुरु हुन्छ उनको बार्गेनिङ ।
‘मलाई अन्त जागिर नलगाईदिने भए अब मलाई काठमाडौंमा घर किनिदिनुस् न त ।’ अब भने मौसम झस्किन्छन् । उनले बारम्बार पैसा मागेको र बार्गेनिङ गरेको सम्झनछन् ।
अब उनीहरुको सम्बन्धमा चिस्सिन थाल्छ । वर्षा हरेक दिन मौसमको कार्यालयमै गएर झगडा गर्न सुरु गर्छिन् । कहिले कुनै दोश्रो व्यक्तिलाई जोडेर बद्नाम गर्ने, कहिले उनको श्रीमती र परिवारसम्म पुगेर आफ्नो सम्बन्धका बारेमा भनिदिने धम्कि दिने, परिवारका सदस्यलाई तल्लो स्तरको अपशब्द प्रयोग गर्ने, त कहिले उनको कार्यालयमा काम गर्ने कर्मचारीका विषयमा अनेकन लाञ्छना लगाउने गर्न थालिन् ।
उनी यतिमै रोकिनन् । कहिले कार्यालयमा आउने ठूला-ठूला अन्तर्राष्ट्रिय स्तरका परियोजाना रोकिदिने, त कहिले प्रहरीमा गएर जबर्जस्तिकरणीको मुद्दा हाल्नेसम्मको धम्की दिन थालिन् ।
यति घटना घटेपछि मौसमले बल्ल ति महिला सजिलै पैसा कमाउने उदेश्यले त्यहाँ पुगेको र आफू हनी ट्रयापमा परेको भन्ने बुझ्छन् ।उनको ट्रयापको शिलशिला अझै रोकिदैन । उनी पैसाको बार्गेनिङ्ग नमिलेपछि महानगरीय प्रहरीवृत्त पुग्छिन् र ठाडो उजुरी दिन्छिन् । गलत नियत राखेर त्यहाँ पुगेकी ति महिलाले सुरुदेखिनै उनी र मौसमबीचका हरेक कुराकानी रेकर्ड गरेकी हुन्छिन् । त्यही कुराकानीका आधारमा कानुनी कठघरामा उभ्याउँछु भन्दै धम्की दिन थालिन् । ति महिलाले प्रहरीमा पुगेको र उजूरी हालेको थाहा पाएपछि मौसमले उनलाई घरको एक अपार्टमेन्टमा फ्याल्ट खरिद गर्न २५ लाख रुपैयाँ पैसा दिन्छन् । पैसा पाएपछि उनले उजुरी फिर्ता लिन्छिन् ।
महिलाको महत्वकांक्षा अझै बढ्न थाल्यो । ति महिलाले मौसमलाई फेरि दुख: दिन थालिन् । अब त मौसमलाई ‘अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सन्छ’ भनेझैँ भएको थियो । उनीहरुको सम्बन्धका बारेका केही जानकार रहेका भाइको हवला दिँदै उनी कुराकानी गर्न भन्दै उनको घरमै पुगीन् र आफूमाथि शोषण भएकोले आफूलाई न्याय चाहिएको भन्दै चिच्याउन र कराउन थालिन्। बिचरा मौसमकी श्रीमती आफूमाथि परेको अन्यायलाई बेवास्ता गरेझैँ, मनभरी पिडा र गहभरी आशु लिँदै चुपचाप तमासा हेरिरहिन् । मलिनो स्वरमा प्रमाण ल्याउन भनिन् ।
केही दिनपछि फेरि ति महिलाले काठमाडौंमा घर किनिदिन भन्छिन् तर उनले अहिले नसक्ने बताउँछन्।
त्यसलगतै उनी फेरि टेकुस्थित महिला सेलमा आफूमाथि बलात्कार भएको भन्दै उजुरी दिन पुग्छिन् । तर यसअघि पनि महानगरीय प्रहरीवृत्त पुगेर उजुरी दिएको र पैसाको बार्गेनिङ्ग मिलेपछि उजुरी फिर्ता लिएको जानकारी पाएपछि महिला सेलका प्रहरीले हनी ट्रयापमा पर्न सक्ने भनेर उल्टै गाली गरेर पठाईदिन्छन् । त्यसपछि त उनको प्रहरीकोमा जाने बारम्बारको धम्कीले पनि काम गर्न छोड्छ।
यता, बारम्बारको बार्गेनिङ्ग, धम्किदेखि आजित, पारिवारिक तिरस्कार अनि सामाजिक बद्नामी समेत खेपिरहेका मौसम पनि कानूनी उपचार खोजिरहेका थिए । उनले प्रहरी वृत सिंहदरवारमा उजुरी, र काठमाडौं जिल्ला अदालतमा मुद्दा समेत दर्ता गराएको थाहा पाएपछि उनी जसरी हुन्छ बद्नाम गराउने र उनको इज्जत मान प्रतिष्ठा सक्काउने खेलमा लागिन् । उनी न्यायालय, नेतादेखि पत्रकारसम्म पुगेर आत्महत्या गर्नेसम्मको धम्की दिएपछि अन्तत : फेरि ति मौसम उनको हरेक माग पूरा गर्न तयार हुन्छन् ।
महिलाले फेरि १ करोडको बार्गेनिङ गर्छिन् । सुरुमा आफन्तकै रोहबरमा ५० लाख लिन्छिन् । फेरि केहि दिनपछि अदालतमा मौसमविरुद्ध हालेको यौन दुर्व्यवहारको मुद्दामा मिलापत्र गर्छिन् र आफ्नै काका ससुराको रोहबरमा अर्को ५० लाख रुपैयाँ लिन्छिन् ।
अचम्मको कुरा, मौसमको सम्बन्धका कारण श्रीमान् र परिवारबाट टाढिनु परेकोले विवाह गर्न समेत दवाव दिँदै, विवाह नगरे पिएचडीका लागि विदेश जाने र लाग्ने सम्पूर्ण खर्च मौसमले नै व्यहोर्नुपर्ने माग गर्दै आएकी ति महिला, श्रीमान र परिवारको सल्लाह बमोजिम नै चल्ने गरेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । त्यसो त मिलापत्र र लेनदेनका समयमा पनि पारिवारका सदस्यनै उपस्थित रहनुले यो भनाइलाई अझै पुष्टि गर्छ ।
यो त प्रतिनिधि घटना मात्र हो । समाजमा यस्ता कयौं घटना छन् जुन बाहिर आउन सकेको छैन ।
एकातर्फ, हिंसा महिलामाथि मात्रै हुन्छ भन्ने भनाइलाई केही समय यता यदाकदा केहि पुरुषहरुले हिम्मत गरेर आफुमाथि भएको हिंसाबारे उठाएका आवाज र विद्यमान नियम कानुनको संसोधनको मागले पनि गलत सावित गरिदिएको छ । हिंसाको कारक एकजना मात्र हुँदैन । समाजमा हिंसा पुरुषमाथि पनि हुन्छ भन्ने उदाहरण प्रसस्तै छन् ।
एक त पुरुषप्रधान देश, अर्कोतर्फ सामाजिक इज्जत र प्रतिष्ठा गुम्ने डरका कारण पनि पुरुषहरु आफूहरूमाथि भएको हिंसाका विषयमा अझै खुलेर बोल्न सकेको देखिँदैन ।
अर्कोतर्फ, पैसा पावर र पहुँचबाट पत्रकार, प्रहरी प्रशासनदेखि न्यायलयसम्म किन्न सकिन्छ भन्ने सोच राख्नेहरुबाट महिलामाथि भएका कयौँ हिंसाजन्य घटना पनि बाहिर आएका छैनन् । जसमा कतिपयका आफ्नै बाध्यता र विवसता पनि रहेका हुन्छन । त्यसैले हिंसारहित समाज निमार्णका निमित्त सबैले खुलेर आवाज उठाउनु आजको आवश्यकता हो । यस विषयमा सम्बन्धित निकायले सत्य तथ्य र निष्पक्ष भएर न्यायीक निर्णय गरी न्यायको प्रत्याभूति दिलाउनु अत्यन्त जरुरी छ । हिंसा महिला, पुरुष जोमाथि पनि हुन सक्छ । हिंसालाई लिङ्गसँग मात्र जोडेर हेर्ने सोच नबदलिएसम्म समाजमा हुने विकृति मत्थर हुन सक्दैन ।






