शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा भारतबाट पक्राउ

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन् ।

१४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका उनलाई नेपाल प्रहरीको सीआईबीको टोलीले भारतको मुम्बईबाट पक्राउ गरेको हो । मुम्बईस्थित एक विधायकको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेर उनलाई सोमबार नेपाल ल्याइएको सीआईबी स्रोतले जनायो ।

भक्तपुरको शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी २०७७ सालमा मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था बनेको थियो । उनैले मोरङमा तुलसी सहकारी संस्था पनि खोलेका थिए । तर संस्था संकटमा परेपछि अध्यक्ष शर्मा बेपत्ता भएका थिए । शर्मा भारतका कानपुर, बहराइच, लखनउ, मुम्बई लगायतका स्थानमा लुकिछिपी बस्दै आएका थिए ।

संस्थामा निरन्तर धाइरहे पनि रकम फिर्ता नपाएपछि बचतकर्ताहरुले सीआईबी र सहकारी विभागमा उजुरी दिएका थिए । बचत तथा मुद्दती खाता खोली जम्मा गरेको रकमको सावाँ तथा ब्याज रकम बचत तथा मुद्दती खाताको अवधि पुगिसकेपछि पनि फिर्ता नपाएको भनी संस्थाका निक्षेपकर्ता सदस्यहरुले जाहेरी दरखास्त दिएपछि सीआईबीले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानको क्रममा सीआईबीले गएकाे असार १ गते एक सूचना जारी गरी काठमाडौं र ललितपुर जिल्ला भित्रका सेवा केन्द्रहरुमा निक्षेपकर्ता सदस्यहरुले जम्मा गरेका रकम हिनामिना भई ठगी हुन गएको भए प्रमाणसहित जाहेरी दिन आह्वान गरेको थियो । शर्मा नेतृत्वको मोरङको तुलसी सहकारीबाट भएको ठगीको पनि मोरङ प्रहरीबाट अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *