डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्वीजेसन) गर्ने भएको छ।
प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्र दुवै लघुवित्तबीच गत शुक्रबार हस्ताक्षर गरेका हुन्। सम्झौतापत्रमा डिप्रोक्सका अध्यक्ष दिपक खनाल र आदर्श लघुवित्तकी अध्यक्ष सूर्यकुमारी श्रेष्ठले हस्ताक्षर गरेका छन्।
स्थानीय पहुँच, अनुभव र क्षमतालाई बढीभन्द बढी उपलब्धिमूलक र प्रभावकारी रुपमा अघि बढाई आफ्नो अग्रता कायमै राख्दै ती क्षेत्रहरुलगायत देशका विभिन्न क्षेत्रहरुमा उपलब्ध वित्तीय व्यवसायका अवसरहरुमार्फत ग्राहकलाई स्तरीय लघुवित्त वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता दुवै लघुवित्तले व्यक्त गरेका छन्। सेयरधनीहरुलाई थप प्रतिस्पर्धात्मक प्रतिफल दिन सक्षम हुन का लागि एक सबल पुँजी भएको उत्कृष्ट लघुवित्त वित्तीय संस्थाका रुपमा स्थापित गर्न आफूहरु सहमत भएको पनि दुवै लघुवित्तले जनाएको छ।
दुवै लघुवित्तले प्राप्ति प्रक्रियालाई अगाडि बढाउन वासुप्रसाद उपाध्यायको संयोजकत्वमा संयुक्त प्राप्ति समिति गठन गरेका छन्। जसमा श्यामकृष्ण दाहाल, सुसन कर्माचार्य र प्रभा धिताल कोइराला सदस्य छन्।
डिप्रोक्सको रजिस्टर्ड कार्यालय चितवनको भरतपुर र आदर्शको काभ्रेको बनेपामा रहेको छ।
डिप्रोक्स लघुवित्तले प्राप्ति गर्ने सम्झौता गरेपछि नेप्सेले आइतबारदेखि उक्त कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । प्राप्ति प्रयोजनमा प्राप्ति गर्ने कम्पनीको सेयर कारोबार रोक्का नहुने भएकाले डिप्रोक्सको शेयर कारोबार भने रोक्का भने हुँदैन ।






