प्रचण्डले दिल्लीमा के भने ?

भारतको सत्तारूढ दलको निम्तोमा नयाँ दिल्ली पुगे तापनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको भ्रमण त्यहाँको सत्तासँग संवादमा केन्द्रित रहेको देखिएको पूर्वकूटनीतिज्ञ एवं जानकारहरूले टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्न प्रयास गर्ने चर्चा भए पनि ’त्यस्तो भेट नभएको’ प्रचण्डको सचिवालयले जनाएको छ । आइतवार तीनदिने भ्रमण टुङ्ग्याएका प्रचण्डले आफूलाई निम्त्याउने भारतीय जनता पार्टी (भाजपा)पङ्क्तिबाहेक विदेशमन्त्री एस जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबल, विदेशसचिव विनय मोहन क्वात्रालगायतसँग भेटेका छन् ।

भाजपाका अध्यक्ष जेपी नड्डाले ’आफ्नो दललाई परिचित गराउने’ कार्यक्रम अन्तर्गत प्रचण्डलाई दिल्ली निम्त्याइएको भेटपछिको आफ्नो ट्वीटमा लेखेका छन् ।
भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रचण्डप्रति दिल्लीको अस्थिर दृष्टिकोण रहने गरेको बताउँदै यस पटक ’बढी नै रुचाएको देखिएको’ टिप्पणी गर्छन् । “हामीले यस्तो प्रणाली बनाएका छौँ जहाँ कांग्रेस मात्रैले पनि एक्लै केही गर्न सक्ने अवस्था छैन,“ कांग्रेस नेता समेत रहेका उपाध्याय भन्छन् ।

“गठबन्धन संस्कृति नेपालमा अपरिहार्य देखिएका बेला भाजपाले समेत सोही अनुरूप सबै मुख्य पार्टीसँग सम्बन्ध राम्रो बनाउन चाहेको देखिन्छ । तर हामीले कस्तो सम्बन्ध चाहेका हौँ त्यो प्रस्ट पार्न सफल भइरहेका छैनौँ ।”

प्रचण्डले शनिवार नयाँ दिल्लीमा बोल्दै द्विपक्षीय मामिलामा ’इतिहासले छाडेका केही मुद्दा असल मनसायले सुल्झाउनुपर्ने’ बताएका थिए ।

भारतीय जनता पार्टी (भाजपा) सम्बद्ध एक संस्थाले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दा ’१९५० को सन्धि, सीमाका मुद्दा र इपीजी प्रतिवेदन’का विषय ’असल छिमेकीको भावले’ सुल्झाउनुपर्ने भनाइ उनले राखेका थिए ।

उनले नेपालले थप हवाई प्रवेश विन्दुको आशा गरिरहेको र ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्य बढाउन चाहेको बताएका थिए । मैत्रीपूर्ण छिमेकीका रूपमा दुवै देशले “एकअर्काको चासो र संवेदनशीलता“लाई ख्याल गर्ने गरेको कुरा प्रचण्डले आफ्नो सम्बोधनमा समेटेका थिए ।

“नेपालले आफ्नो भूमि छिमेकीहरूको स्वार्थविरुद्ध प्रयोग हुन दिएको छैन र भारतसँग पनि त्यस्तै अपेक्षा गर्छ,“ शनिवार प्रचण्डले आफ्नो सम्बोधनमा भनेका थिए ।

गठबन्धनका साझेदारका रूपमा प्रचण्डले, देउवा र मोदी एक–अर्काको देशमा गरेका पछिल्ला भ्रमणले आपसी सम्बन्धमा ’एउटा गति’ सिर्जना गरेको बताए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *