पद धरापमा परेपछि गृहमन्त्री सुधन गुरुङले भने- मविरुद्ध मिडिया ट्रायल गरियो, कारबाही रोकिँदैन

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आफूविरुद्ध मिडिया ट्रायल र प्रायोजित हल्ला चलाइएको दाबी गरेका छन्।

गृहमन्त्री पद नै धरापमा परेपछि गएराति सामाजिक सञ्जालमा उनले वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका र आफूविरुद्ध प्रायोजित हल्ला चलाइएको भन्दै प्रष्टीकरण दिएका हुन्।

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दिपक भट्टसँग गृहमन्त्री गुरुङको व्यवसायिक साझेदारी रहेको आरोप लागेको छ। त्यस्तै, जेनजी आन्दोलनपछि गुरुङले ५० लाखको शेयर खरिद गरेको र त्यसबारे सम्पत्ति विवरण उल्लेख नगरेको समाचार आइरहेका छन्।

आफूविरुद्धको हल्ला आफ्नो कामबाट डराएकाहरुले गरेको भन्दै उनले त्यसबाट आफू नडगमगाउने भ्रष्टहरुमाथिको कारबाही नरोकिने बताएका छन्।

‘वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन्। मिडिया ट्रायल र प्रायोजित हल्ला त केवल उनीहरूको छटपटी मात्र हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कारबाही रोकिँदैन, डगमगाइँदैन। दिनको ५० करोड भ्रष्टाचार गर्नेको पछाडि पनि यत्तिको दुःख गरेर लागेको देखिनँ।’

गृहमन्त्री गुरुङले सोमबार पनि सामाजिक सञ्जालमा लामो प्रष्टीकरण लेख्दै आफूमाथि लागेका आरोपका विषयमा अनुसन्धानका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताएका थिए।

सोहि बिषयलाई लिएर नेपाली कांग्रेसले पनि गृहमन्त्री गुरुङको राजीनामा माग गरेको छ। उनीमाथि छानबिन गर्न कांग्रेसले सरकारसँग आग्रह गरेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *