रास्वपा सरकारको पहिलो बजेट पेस गर्दै अर्थमन्त्री वाग्ले, वाचापत्र र सयबुँदे कार्ययोजना समेटिने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आज पहिलो पूर्ण बजेट सार्वजनिक गर्दैछ।

फागुन २१ को निर्वाचनपछि झन्डै दुई तिहाइ समर्थनसहित गठन भएको सरकारका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्न लागेका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको करिब दुई महिनापछि आउन लागेको बजेटलाई सरकारको आर्थिक र प्रशासनिक दिशाको पहिलो औपचारिक दस्तावेजका रूपमा हेरिएको छ।

सरकारले निर्वाचनअघि सार्वजनिक गरेको वाचापत्र, शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना तथा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतालाई बजेटको आधार बनाएको जनाएको छ।

संसद्का दुवै सदनमा सांसदहरूले दिएका सुझावलाई पनि समेटिएको दाबी गरिएको छ।

संघीय संसद् सचिवालयका अनुसार अर्थमन्त्री वाग्लेले आज अपराह्न ४ बजे सिंहदरबारस्थित बहुउद्देश्यीय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।

नयाँ संविधान जारी भएयता हरेक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ।

सरकारले यसपटकको बजेटलाई पारदर्शी, परिणाममुखी र व्यवस्थित बनाउने लक्ष्य लिएको जनाएको छ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा निर्धारण गरेको थियो।

तर प्रधानमन्त्रीको जोडबलमा अर्थमन्त्री वाग्लेले आयोगले तोकेको सीमाभन्दा माथि गएर २२ देखि २५ खर्ब रुपैयाँसम्मको बजेट ल्याउन सक्ने चर्चा छ।

चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट ल्याइएको थियो।

त्यसपछि गत भदौमा भएको आन्दोलनपछिको राजनीतिक परिवर्तनसँगै बनेको सरकारले मध्यावधि समीक्षामार्फत बजेटको आकार घटाएर १६ खर्ब ८८ अर्ब रुपैयाँमा सीमित गरेको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *