गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा पहिलोपटक प्रधानमन्त्रीको सम्बोधन नहुने

काठमाडौं। आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइँदै छ।

जननिर्वाचित पहिलो संविधानसभाले २०६५ जेठ १५ गते २३९ वर्षे राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने गरिएको हो।

जनआन्दोलन २०६२/६३ को उपलब्धिका रूपमा स्थापित गणतन्त्र घोषणाको सम्झनामा सरकारले देशभर विशेष कार्यक्रम आयोजना गरेको छ।

राज्यसत्ताको सम्पूर्ण अधिकार जनतामा निहित रहने व्यवस्था औपचारिक रूपमा लागू भएको दिनका रूपमा जेठ १५ लाई गणतन्त्र दिवसका रूपमा मनाइँदै आएको छ।

२०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभा पुनःस्थापना गरेपछि सुरु भएको राजनीतिक प्रक्रियाले गणतन्त्र स्थापनाको आधार तयार गरेको थियो।

त्यसपछि पहिलो संविधानसभाको पहिलो बैठकले राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो।

गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायकप्रसाद यादव, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना दिएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहको शुभकामना भने सार्वजनिक भएको छैन।

गणतन्त्र मूल समारोह समितिले आज बिहान काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरेको छ। समारोहमा राष्ट्रपति पौडेल सहभागी हुने कार्यक्रम छ।

यसपटकको समारोहलाई प्रधानमन्त्री शाहले सम्बोधन नगर्ने भएका छन्। उनले संविधानको धारा ६६ को उपधारा (२) अनुसार राष्ट्रपतिबाट सम्बोधन गराउन अनुरोध गर्दै पत्राचार गरेको जनाइएको छ।

यसअघि गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने अभ्यास थियो। पछिल्लो समय प्रधानमन्त्री शाह सार्वजनिक औपचारिक कार्यक्रममा कम सहभागी हुँदै आएका छन्।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएपछि संसद्मा धन्यवाद प्रस्तावमाथि प्रधानमन्त्रीले बोलेका थिएनन्।

नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन पनि प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्षी दलहरूले संसद् अवरुद्ध गरेका थिए।

त्यसक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारका तर्फबाट जवाफ दिएका थिए।

प्रमुख प्रतिपक्षी दलको विरोध र विपक्षीहरूको बहिष्कारबीच नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको थियो।

प्रधानमन्त्री शाहले निर्वाचित भएपछि हालसम्म देशवासीका नाममा औपचारिक सम्बोधनसमेत गरेका छैनन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *