खुर्कोट हिरासत थुनुवा मृत्यु प्रकरण : एसपीदेखि जवानसम्म १० प्रहरीमाथि कारबाही सिफारिस

काठमाडौं । नेपाल प्रहरी ले सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षक (एसपी) देखि प्रहरी जवानसम्म १० जना प्रहरी कर्मचारीमाथि कारबाही गर्न सिफारिस गरेको छ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विक को हिरासतमा मृत्यु भएपछि नेपाल प्रहरी ले प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेश कुमार आचार्य को नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले घटनाको अनुसन्धानपछि विभिन्न तहका प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गर्न सिफारिस गरेको हो।

प्रतिवेदनअनुसार १ जनालाई सचेत गराउने, २ जनालाई ध्यानाकर्षण गराउने, ५ जनालाई सख्त चेतावनीसहित जिम्मेवारीबाट अलग गर्ने, १ जनालाई नसिहत दिने तथा १ जनालाई ग्रेड घटुवा गर्ने सिफारिस गरिएको छ।

समितिले हिरासतमा रहेका व्यक्तिको सुरक्षा सुनिश्चित गर्न विशेष ध्यान दिनुपर्ने निष्कर्ष निकालेको छ। साथै हिरासत व्यवस्थापन कार्य निर्देशन, २०८१ को पूर्ण कार्यान्वयन गर्न, ड्युटीका समयमा अन्य काममा संलग्न नहुन तथा हिरासतमा नियमित निगरानी अनिवार्य गर्न सुझाव दिएको छ।

प्रतिवेदनमा कुनै पनि असामान्य गतिविधि तत्काल रिपोर्ट गर्ने प्रणाली लागू गर्नुपर्ने, सामाजिक तनाव सिर्जना हुन सक्ने तथा अन्तर्जातीय सम्बन्धजस्ता संवेदनशील घटनामा थप सतर्क भएर अनुसन्धान गर्नुपर्ने उल्लेख गरिएको छ। यस्ता घटनामा कार्यालय प्रमुखको प्रत्यक्ष निगरानी र सक्रिय भूमिका आवश्यक रहेको समितिको भनाइ छ।

समितिले जिल्ला प्रहरी प्रमुखलाई हिरासत व्यवस्थापन, निरीक्षण र सुपरीवेक्षण अझ प्रभावकारी बनाउन निर्देशनात्मक सुझाव दिँदै प्रत्येक प्रहरी इकाइमा नियमित अनुगमन, हिरासत अवस्थाको मूल्याङ्कन तथा सुधारमुखी कार्ययोजना लागू गर्न आग्रह गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *