नेपाल बीमा प्राधिकरण अध्यक्षका लागि दरखास्त आह्वान (सूचनासहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। समितिले आज जेठ १३ गते सूचना प्रकाशित गर्दै इच्छुक तथा योग्य व्यक्तिबाट आवेदन मागेको हो।

सूचनाअनुसार बीमा ऐन, २०७९ को दफा ८ को उपदफा (१) बमोजिम बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव अनिवार्य गरिएको छ।

उम्मेदवार उच्च नैतिक चरित्रको हुनुका साथै बीमा ऐन, २०७९ को दफा ८ को उपदफा (३) अनुसार अयोग्य नभएको हुनुपर्ने उल्लेख छ। त्यस्तै अर्थ मन्त्रालय अन्तर्गत सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ अनुसार ३० वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ।

यसका अतिरिक्त भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागूऔषध कारोबार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तुसम्बन्धी कसूर तथा नैतिक पतन देखिने अन्य फौजदारी अभियोगमा सजाय नपाएको हुनुपर्नेछ। कालोसूचीमा परेको भए फुकुवा भएको कम्तीमा तीन वर्ष पूरा भएको, कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति नलिएको, सार्वजनिक निकायसँग ठेक्का सम्झौतामा संलग्न नरहेको तथा मानसिक सन्तुलन ठीक भएको व्यक्ति मात्रै योग्य हुने जनाइएको छ।

योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजातसहित जेठ १९ गते कार्यालय समयभित्र अर्थ मन्त्रालय को वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौंस्थित समितिको सचिवालयमा व्यक्तिगत विवरण पेश गर्नुपर्नेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *