संसद् बैठक बस्दै, अर्थमन्त्री वाग्लेले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची

काठमाडौं। संघीय संसद् सचिवालयले आज दुवै सदनका बैठक बस्ने कार्यसूची सार्वजनिक गरेको छ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको हो।

आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ। यस्तै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२÷८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम छ।

यस्तै, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

राष्ट्रिय सभाको बैठकमा पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२÷८३ को आर्थिक सर्वेक्षण पेस गर्नेछन्। वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची छ।

त्यसैगरी प्रतिनिधिसभाअन्तर्गतकै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठक पनि आजै बिहान बस्ने भएको छ। किसानलाई रासायनिक मलको सहज एवं सुलभ आपूर्तिका विषयमा केन्द्रित रहेर समितिले छलफल गर्नेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *