कालंगा हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । कालंगा हाईड्रो लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत जेठ ८ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको २८ लाख ७० हजार कित्ता साधारण सेयरमा आज कार्यालय समयभित्र आवेदन दिन सकिनेछ।

कम्पनीले यसअघि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरी बाँडफाँट गरिसकेको थियो। त्यसपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ खुला गरिएको हो।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

रेटिङ एजेन्सी केयर रेटिङ नेपाल ले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्योर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमै बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै मेरो सेयर प्रणालीमार्फत अनलाइन आवेदन पनि दिन सकिनेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *