कर्मचारी सुविधाका लागि बाल हेरचाह केन्द्र निर्माण गर्दै राष्ट्र बैंक

काठमाडौं। नेपाल राष्ट्र बैंकले कर्मचारीहरूको सुविधाका लागि बाल हेरचाह केन्द्र निर्माण गर्ने भएको छ। बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले बालुवाटारस्थित ब्लक ‘ए’ मा यो केन्द्र निर्माण गर्न करिब ३५ लाख रुपैयाँको बोलपत्र आह्वान गरेको हो।

राष्ट्र बैंकले विशेषगरी साना बालबालिका भएका कर्मचारीहरूलाई कार्यस्थलमा सहज वातावरण प्रदान गर्न यो केन्द्र बनाउन लागेको हो। नेपालको श्रम ऐन २०७४ ले पनि धेरै संख्यामा महिला कर्मचारीहरू कार्यरत रहेको कार्यस्थलमा शिशु स्याहार केन्द्र वा स्तनपान कक्षको व्यवस्था हुनुपर्ने प्रावधान राखेको छ।

यो केन्द्र निर्माण कार्यका लागि राष्ट्र बैंकले ३४ लाख ९४ हजार ४३३ रुपैयाँ ९९ पैसा लागत अनुमान गरेको छ। इच्छुक नेपाली निर्माण व्यवसायीहरूले आगामी जुन १७, २०२६ (२०८३ असार ३ गते) को दिउँसो १२ बजेसम्म अनलाइनमार्फत बोलपत्र पेश गर्न सक्नेछन्। बोलपत्रमा सहभागी हुन ३ हजार रुपैयाँ दस्तुर र ९० हजार रुपैयाँ धरौटी जम्मा गर्नुपर्ने बैंकको सूचनामा उल्लेख छ। केन्द्रमा बालबालिकाका लागि खेल्ने, सुत्ने र सामान्य शिक्षा लिने सुविधाहरू रहनेछन्।

केन्द्रीय बैंकमा कार्यरत कर्मचारीहरूले कार्यालय समयमा आफ्ना बालबालिकाको सुरक्षा र रेखदेखका लागि चिन्ता लिनु नपरोस् भन्ने उद्देश्यले यो सुविधा थप गर्न लागिएको राष्ट बैंकले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *