४३ हजार अमेरिकी डलरसहित गुरुङ पक्राउ

रसुवा। रसुवा प्रहरीले ठूलो परिमाणको विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङको गंगा जमुना गाउँपालिका–५ का ३७ वर्षीय सुशील गुरुङ रहेका छन्।

प्रहरीका अनुसार गुरुङलाई भारतीय तीर्थयात्रीको पथप्रदर्शक (गाइड) बनेर मानसरोवर कैलाश यात्रामा जाँदै गर्दा सुरक्षा जाँचका क्रममा रसुवाको बेत्रावती क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार गुरुङको साथबाट गैरकानुनी रूपमा लुकाइछिपाई बोकेको एकदेखि १०० सम्म दरका नोटबाट जम्मा ४३ हजार अमेरिकी डलर बरामद गरिएको छ।

प्रहरीले जनाएअनुसार गुरुङ ३० जना भारतीय तीर्थयात्रीसँग मानसरोवर यात्रामा गइरहेका थिए। सोही क्रममा शंकास्पद गतिविधि देखिएपछि जाँच गर्दा ठूलो परिमाणको विदेशी मुद्रा फेला परेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी राजु शाहले जानकारी दिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *