काठमाडौँ- महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको ३२ औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न सामाजिक तथा चेतनामूलक कार्यक्रमहरू आयोजना गरी भव्य रूपमा वार्षिकोत्सव मनाएको छ ।
बैंकले यही जेष्ठ २ गतेदेखि जेष्ठ ७ गतेसम्म एक हप्तासम्म विभिन्न विधामा केन्द्रित रहेर देशैभर आफ्ना शाखाहरू मार्फत वार्षिकोत्सव कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको हो ।
वार्षिकोत्सवको सुरुवात गर्दै बैंकले जेष्ठ २ गते केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालयहरू तथा विभिन्न शाखा कार्यालयका कर्मचारीहरूको सहभागितामा वित्तीय साक्षरता जगाउने उद्देश्यका साथ प्रभातफेरी कार्यक्रम आयोजना गरेको थियो ।
उक्त अवसरमा आयोजित वित्तीय साक्षरता कार्यक्रममा मोबाइल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, तथा विप्रेषण जस्ता आधुनिक बैंकिङ्ग सेवाहरूबारे सर्वसाधारणलाई जानकारी गराइएको थियो ।
यसैगरी, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले जेष्ठ ४ गते केन्द्रिय कार्यालयमा बृहत निःशुल्क स्वास्थ्य शिविर तथा जेष्ठ ५ गते निःशुल्क दन्त र आँखा शिविर सञ्चालन गरेको थियो, जसमा करिब २०० जना व्यक्तिहरूले स्वास्थ्य परीक्षण सेवा प्राप्त गरेका थिए ।
स्वास्थ्य क्षेत्रको रगत अभावको चुनौतीलाई मध्यनजर गर्दै बैंकले जेष्ठ ६ गते देशका विभिन्न प्रादेशिक कार्यालय र केन्द्रिय कार्यालयमा बृहत रक्तदान कार्यक्रम समेत आयोजना गर्यो, जहाँबाट २०० पिन्ट रगत संकलन गरिएको छ ।
सोही दिन सांस्कृतिक प्रबर्द्धन अन्तर्गत विभिन्न स्थानमा रहेका महालक्ष्मी मन्दिरहरूको सरसफाइ गरी आवश्यक सामग्रीहरू हस्तान्तरण गरिनुका साथै ललितपुरको महालक्ष्मीस्थान मन्दिरमा बगैंचा मर्मत र डिजिटल दक्षिणा भुक्तानी प्रबर्द्धनका लागि बैंकले सहयोग पुर्याएको छ ।
वार्षिकोत्सवको अन्तिम दिन अर्थात् जेष्ठ ७ गते बिहिबार, बैंकका कर्मचारीहरूले देशको भौगोलिक र सांस्कृतिक विविधता झल्काउने स्थानीय भेषभूषा पहिरिएर प्रदर्शन गरेका थिए । सोही दिन नारायणहिटी नारायणस्थान गुठी व्यवस्थापन समितिलाई खानेपानी व्यवस्थापनका लागि पानी ट्याङ्की हस्तान्तरण गरिएको थियो ।
यसका साथै, स्थानीय साना तथा मझौला व्यापारहरूको प्रबर्द्धन गर्ने उद्देश्यले आयोजित “महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता” का उत्कृष्ट फोटोहरूको प्रदर्शनी समेत केन्द्रिय कार्यालयमा गरिएको थियो ।
बैंकले आफ्नो वार्षिक उत्सवको निरन्तरता स्वरूप विगत ४ वर्षदेखि गर्दै आएको ‘महालक्ष्मी कर्पोरेट क्रिकेट’ को पाँचौ शृङ्खला पनि यसै जेष्ठ महिनाभित्र आयोजना गर्ने जानकारी दिएको छ ।






