काठमाडौँ । ग्लोबल आईएमइ बैंकका एक कर्मचारीले आत्महत्या गरेका छन्। बैंकको विराटनगर शाखामा कार्यरत पिताम्बर खड्काले सीइओ सुरेन्द्र कुमार रेग्मी, डेपुटी सीइओ सुमन पोखरेलसहित अन्य २ जना उच्च अधिकारीहरूको नाममा सामाजिक संजालमार्फत् ‘सुसाईट नोट’ लेखेर आत्महत्या गरेका हुन्।
झापाको दमक नगरपालिका–८ लक्ष्मीमार्ग टोल निवासी ४२ वर्षीय खड्काले आइतबार साँझ फेसबुकमार्फत सीइओ रेग्मीसहित ४ जनाको सामूहिक तस्बिर सार्वजनिक गर्दै उनीहरुका कारण आफू गम्भीर मानसिक तनावमा रहेको संकेत गरेका थिए। खड्काले सार्वजनिक गरेको तस्बीरसहितका पोस्टमा उनले दिपचन्द्र रेग्मी र अनमिका कुँवर सिंहसहित बैंकका उच्च अधिकारीहरूको नाम उल्लेख गरेका छन्।
उनले सीइओसहित ४ जनाको तस्बिर सार्वजनिक गर्दै नामै किटान गरी फेसबुकमा लेखेका छन् ,-“तिमीहरुले मलाई मार्यौ, हरामखोर।”
इलाका प्रहरी कार्यालय दमकका अनुसार खड्काले साँझ करिब ५ बजेतिर सामाजिक सञ्जालमा उक्त तस्बिर पोस्ट गरेका हुन्। त्यसको केही समयमै खड्का आफ्नै घरको भुइँतलाको कोठामा सिलिङ फ्यानको हुकमा प्लास्टिकको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका थिए।
मृतकका बुवा महेश खड्काले छोरालाई झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी निरीक्षक नवीन राईको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।
खड्काको शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको वडा नम्बर–८ का वडाध्यक्ष धर्मप्रसाद दाहालले जानकारी दिए। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा खड्का ग्लोबल आईएमइ बैंकको विराटनगर शाखामा कार्यरत कर्मचारी भएको खुलेको छ। यसबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।
नाम उल्लेख गर्दै बैंकका कर्मचारीले आत्महत्या गरेको बिषयमा सीइओ सुरेन्द्र कुमार रेग्मीले भने आफूलाई जानकारी नै नभएको बताए। उनले भने,- ‘म अहिले जर्मनीमा छु। उहाँ हाम्रो स्टाफ हो। तर, के भएको हो मलाई ठ्याकै थाह भएन।’
त्यस्तै, डेपुटी सीइओ तथा बैंकका प्रवक्ता सुमन पोखरेलले पनि आफूले भर्खरै मात्र जानकारी पाएको बताए। मृतक खड्काले केहि समय अघि मात्र राजिनामा दिएको भन्ने सुनेको भन्दै पोखरेलले आफूले कुनै पनि किसिमको टर्चर नदिएको दावी गर्दै भने ,- जुनियर भाई हो, पहिला चारालीमा थियो, त्यसपछि प्रोभियन्समा आएको। त्यस्तो गर्ला जस्तो त लाग्य थिएन। मसँग खासै त्यस्तो केहि नराम्रो पनि थिएन। यस बिषयमा हामी भोली बिहान बैठक बस्दैछौँ।’






