२ अर्ब नाफा कमाएको सिद्धार्थ बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले नौ महिनामा २ अर्ब १ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.७८ प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष सोही अवधिमा बैंकको नाफा १ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी सामान्य बढे पनि इम्पेयरमेन्ट चार्ज घटेका कारण नाफा बढ्न पुगेको जनाएको छ । समीक्षा अवधिमा खुद ब्याज आम्दानी ३.०४ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १७.४५ प्रतिशतले बढेको छ ।

कुल सञ्चालन आम्दानी ८.२५ प्रतिशतले बढ्दा सञ्चालन मुनाफा २३.४५ प्रतिशतले वृद्धि भएको छ ।

इम्पेयरमेन्ट चार्ज घटेर २ अर्ब ३ करोड ५४ लाख रुपैयाँमा सीमित भएपछि सञ्चालन मुनाफा बढेको हो ।

यस अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९९ करोड ९४ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी २० रुपैयाँ ९८ पैसा पुगेको छ ।

नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा प्रतिसेयर आम्दानी २ रुपैयाँ ४९ पैसा बढेर १७ रुपैयाँ ६२ पैसा पुगेको छ ।

चैत मसान्तसम्म प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात २२.२५ गुणा रहेको छ ।

बैंकले अविमोच्य अग्राधिकार सेयर जारी गरी चुक्ता पुँजी १८ अर्ब २९ करोड रुपैयाँ पुर्‍याएको छ । जगेडा कोषमा १७ अर्ब २६ करोड रुपैयाँ सञ्चित रहेको छ ।

चैत मसान्तसम्म बैंकले ३ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *