काठमाडौं ।माछापुच्छ्रे बैंक लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले नौ महिनामा १ अर्ब ६५ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.४३ प्रतिशतले बढी हो ।
अघिल्लो वर्ष सोही अवधिमा बैंकको नाफा १ अर्ब १० करोड २६ लाख रुपैयाँ थियो ।
बैंकको खुद ब्याज आम्दानी सामान्य बढे पनि इम्पेयरमेन्ट चार्ज घटेका कारण नाफा वृद्धि भएको जनाएको छ ।
समीक्षा अवधिमा खुद ब्याज आम्दानी ३.४७ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २८.२३ प्रतिशतले बढेको छ ।
कुल सञ्चालन आम्दानी ९.९३ प्रतिशतले बढ्दा सञ्चालन मुनाफा १६.६४ प्रतिशतले वृद्धि भएको छ ।
इम्पेयरमेन्ट चार्ज घटेर ६७ करोड ३७ लाख रुपैयाँमा सीमित भएपछि सञ्चालन मुनाफा बढेको हो ।
यस अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ७६ करोड २२ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८१ पैसा पुगेको छ ।
नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा प्रतिसेयर आम्दानी ६ रुपैयाँ १४ पैसा बढेर १८ रुपैयाँ ३० पैसा पुगेको छ ।
चैत मसान्तसम्म प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ १० पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात १३.७७ गुणा रहेको छ ।
बैंकले अविमोच्य अग्राधिकार सेयर जारी गरी चुक्ता पुँजी १५ अर्ब ८ करोड रुपैयाँ पुर्याएको छ । जगेडा कोषमा ८ अर्ब २२ करोड रुपैयाँ सञ्चित रहेको छ ।
चैत मसान्तसम्म बैंकले २ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।






