झापा । काँकडभिट्टा बजारमा म्याद गुज्रिएका पेय पदार्थ बिक्री भइरहेको गुनासोपछि संयुक्त टोलीले सोमबार अनुगमन गरी ३० कार्टुन पेय पदार्थ बरामद गरेको छ ।
मेचीनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय झापा, नेपाल प्रहरी र उपभोक्ता जागरण अभियान नेपाल को संयुक्त टोलीले नौ वटा पसलमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा बिक्रीका लागि राखिएका कोकाकोला, फेन्टा, स्प्राइट, किन्लेलगायत म्याद गुज्रिएका पेय पदार्थ फेला परेको मेचीनगरका खाद्य अधिकृत दीपेन्द्र कार्की ले जानकारी दिए ।
टोलीले कुमार कोल्ड सेन्टर, केआर कोल्ड सेन्टर, पौडेल ब्रदर्स स्टोर्स, कृष्ण ट्रेडर्स, भट्टराई भेराइटिज, विनोद संगम किराना पसल, कञ्चन कोल्डस्टोर र आरुस स्टोर्समा अनुगमन गरेको थियो ।
बरामद गरिएका पेय पदार्थ जफत गरी नष्ट गरिएको र सम्बन्धित व्यवसायीलाई सचेत गराउँदै तीन दिनभित्र नगरपालिका कार्यालयमा सम्पर्क राख्न निर्देशन दिइएको कार्कीले बताए ।
प्रधानमन्त्री नेतृत्वमा रहेको हेल्लो सरकार मा परेको उजुरीपछि अनुगमन गरिएको हो । उक्त उजुरी जिल्ला प्रशासन कार्यालयमार्फत कार्यान्वयनमा ल्याइएको जनाइएको छ ।






