बालेन्द्र साह सरकारको कदमप्रति नेकपाले उठायो प्रश्न- ‘निष्पक्षताको मान्यता उल्लंघन नगरोस्’

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट बहुमतसहित प्रधानमन्त्रीमा नियुक्त बालेन्द्र साहलाई शुभकामना दिएको छ। पार्टीले शनिबार केन्द्रीय कार्यालय कोटेश्वरबाट जारी विज्ञप्तिमार्फत नयाँ सरकारको सफल कार्यकालको कामना गर्दै पछिल्लो राजनीतिक घटनामाथि भने ध्यानाकर्षण गराएको छ ।

नेकपाले भदौ २३ र २४ का घटनाको छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वले तयार गरेको प्रतिवेदन कार्यान्वयनमा सरकारले चालेको कदमप्रति प्रश्न उठाएको हो।

केन्द्रीय कार्यालयका तर्फबाट गणेशमान पुनद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यस सन्दर्भमा हाम्रो पार्टी कुनै पनि कदम चाल्दा सरकारले विधिको शासन, कानुनी प्रक्रिया र निष्पक्षताको मान्यता उल्लंघन नगरोस् र राजनीतिक पूर्वाग्रह राख्ने तथा द्वन्द्व सिर्जना हुने कार्य नहोस् भन्ने आग्रह गर्दछ।’ सरकारले चाल्ने कदमहरू न्यायपूर्ण हुनुपर्ने र त्यसले राजनीतिक प्रतिशोधको रुप लिन नहुनेमा पार्टीले सचेत गराएको छ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले कार्की आयोगको सुझाव अनुसार तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक माथि कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो। ओली र लेखक पक्राउ परेपछि एमालेले देशव्यापी विरोध कार्यक्रमको घोषणा गरेको छ। यसैक्रममा ओलीको रिहाईको माग गर्दै एमालेले आज काठमाडौँ लगायत देशभर प्रदर्शन गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *