ठगी मुद्दामा समातिएका दीपक साह बालेन सरकारका श्रममन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साहले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा नियुक्त गरेका दीपक कुमार साहमाथि  ठगीको मुद्दा दर्ता भएको तथ्य सार्वजनिक भएको छ।

नेपाल प्रहरीको विवरणअनुसार, वर्ड वाइड कन्सल्टेन्सीका सञ्चालक रहेका साह एमबिबिएस परीक्षा पास गरिदिने बहानामा ग्राहकबाट पैसा ठगी गरेको आरोपमा २०७३ साल असोज १६ गते पक्राउ परेका थिए। सोही घटनामा साहसँगै कन्सल्टेन्सीमा काम गर्ने गणेश अधिकारी पनि पक्राउ परेका थिए।

प्रहरीका अनुसार, काठमाडौँ–१२ टेकु बस्ने सायसा पन्तको आमा विमला पन्तसँग दुई लाख रुपैयाँ लिएर एमबिबिएस परीक्षा पास गरिदिने आश्वासन दिएको भेटीएसँगै प्राप्त ठगी उजुरीपछि प्रहरीले घटना अनुसन्धान गरी आरोपीहरूलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीद्वारा सार्वजनिक विवरणमा भनिएको छ – “दीपक कुमार साहले आफूलाई डाक्टर भन्दै ठगी गरेका थिए, तर उनी वास्तविक डाक्टर नभएको पत्ता लागेको छ।” अधिकारी र साह दुवैलाई आवश्यक कानुनी कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको थियो।  ठगीमा समातिएको घटनामा सफाइ पाएको हो कि होईन भनेर उनीसँग प्रतिक्रिया लिन खोज्दा उनले प्रतिक्रिया दिन अस्विकार गरे ।

हाल साह महोत्तरी–२ बाट रास्वपाका उम्मेदवार बनेर निर्वाचित पनि भए। प्रधानमन्त्री साहले क्षमता र विज्ञताको आधारमा मन्त्री नियुक्त गरेको दाबी पनि गरे। तर, ठगीको पृष्ठभूमि भएका उनलाई सोहि क्षेत्रमा अर्थात् श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री मन्त्री बनाउनु सार्वजनिक ध्यानाकर्षणको विषय बनेपछि बालेन्द्र साहकै आलोचना सुरु भएको छ।

वैदेशिक रोजगारीजस्तो संवेदनशील क्षेत्रसँग जोडिएको मन्त्रालयमा विश्वासनीयता अत्यन्त महत्वपूर्ण मानिन्छ। प्रधानमन्त्री साहले मन्त्रीहरूलाई काम गर्न नसके पद छाड्न निर्देशन दिएका भए पनि मन्त्री चयनमै विवाद उत्पन्न भएपछि उनको निर्णयप्रति चासो र आलोचना दुवै बढेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *