काठमाडौँ । नेपालबाट हरेक वर्ष ठूलो परिमाणमा जुत्ता विदेश निर्यात भइरहेको छ। जुत्ता उत्पादक सङ्घका अनुसार देशमा उत्पादित जुत्तामध्ये करिब तीन करोड जोर वार्षिक रूपमा अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेका छन्।
सङ्घका महासचिव निर्मल भट्टराईले जारी गरेको विज्ञप्तिमा नेपाली जुत्ता उद्योग उत्पादन क्षमताका हिसाबले आत्मनिर्भर अवस्थामा पुगेको उल्लेख गरिएको छ। उद्योगसँग करिब १६ करोड जोर जुत्ता उत्पादन गर्ने क्षमता रहेको र स्वदेशी बजारको झन्डै ७० प्रतिशत माग स्थानीय उत्पादनले नै धानिरहेको जानकारी दिइएको छ।
उद्योगको दायरा विस्तार, निर्यात वृद्धि र आन्तरिक खपत प्रवर्द्धन गर्ने लक्ष्यसहित सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घ मा आफ्नो उपस्थितिलाई मजबुत बनाउने तयारी गरेको छ। सोही अनुसार अध्यक्ष सुरज बन्जाडे लाई महासङ्घको वस्तुगत कार्यसमितिमा सदस्यका रूपमा अघि सारिएको छ।
जुत्ता उद्योगले रोजगारी सिर्जना गर्नुका साथै वैदेशिक मुद्रा आर्जनमा महत्वपूर्ण योगदान दिँदै आएको सङ्घले जनाएको छ। उत्पादन र निर्यातका क्रममा देखिएका चुनौती समाधानका लागि महासङ्घमार्फत प्रभावकारी पहल गर्ने उद्देश्य पनि व्यक्त गरिएको छ।
नेपाली जुत्ता उद्योगको थप विकास, बजार विस्तार र ब्रान्ड सुदृढीकरणका लागि नीतिगत सहयोग र सशक्त प्रतिनिधित्व आवश्यक रहेकोमा सङ्घले जोड दिएको छ।






