काठमाडौँ । केपी शर्मा ओली पक्राउ परेपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारविरुद्ध कडा प्रतिक्रिया जनाएको छ। एमाले नेता विशाल भट्टराईले नयाँ सरकार गठन भएको २४ घण्टा नबित्दै प्रतिशोधपूर्ण राजनीति सुरु गरिएको आरोप लगाएका छन्।
पार्टी मुख्यालय च्यासलमा पत्रकारहरूसँग कुरा गर्दै उनले ओलीको पक्राउलाई निन्दनीय कदमको संज्ञा दिँदै कानुनी र संसदीय दुवै मोर्चाबाट सशक्त प्रतिवाद गरिने चेतावनी दिए। नयाँ जनादेशसहित आएको सरकारले जनताको अपेक्षा विपरीत सुरुमै राजनीतिक प्रतिशोध साँध्न थालेको उनको भनाइ थियो।
भट्टराईले गौरीबहादुर कार्की नेतृत्वको कार्की आयोगको प्रतिवेदन नै पूर्वाग्रही रहेको दाबी गरे। उनका अनुसार आयोगले २३ गतेको घटनालाई मात्र आधार मानेर निष्कर्ष निकालेको छ भने त्यसपछिको २४ गते भएको ठूलो क्षति र हिंसात्मक घटनालाई पूर्ण रूपमा बेवास्ता गरिएको छ। यस्तो एकपक्षीय विश्लेषणका आधारमा गरिएको कारबाही राजनीतिक प्रेरित भएको उनको आरोप छ।
उनले छानबिन गरेर दोषीमाथि कारबाही गर्न एमालेलाई कुनै आपत्ति नरहेको स्पष्ट पार्दै एकातिरको घटनालाई मात्र प्राथमिकता दिइनु न्यायोचित नहुने बताए। प्रतिवेदनभित्रै विरोधाभास देखिने भन्दै उनले सुरक्षाकर्मीलाई एकातिर सुरक्षा दिन खोज्दा दोषी ठहर गर्ने र अर्कोतर्फ सुरक्षा दिन नसकेको भन्दै पुनः आरोप लगाउने शैलीले आयोगको निष्पक्षतामाथि प्रश्न उठाएको उल्लेख गरे।
महाराजगञ्जस्थित प्रहरी चौकीमा भएको आक्रमण तथा प्रहरीमाथिको अमानवीय व्यवहारबारे प्रतिवेदन मौन बसेको भन्दै उनले असन्तुष्टि जनाए। भट्टराईले आयोगका संयोजक कार्की सुरुदेखि नै पूर्वाग्रही रहेको आरोप लगाउँदै उनले सार्वजनिक रूपमै ‘पक्रिनुपर्छ, थुन्नुपर्छ’ जस्ता अभिव्यक्ति दिएको दाबी गरे।
समग्रमा, सरकारले प्रतिवेदन कार्यान्वयनको नाममा राजनीतिक पूर्वाग्रह राख्दै कदम चालेको निष्कर्ष एमालेको रहेको उनले स्पष्ट पारे।






