काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेश भट्टराईले लोकतान्त्रिक व्यवस्थामा राज्य र सरकार आक्रामक नभई संयमित हुनुपर्ने बताएका छन्।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि असन्तुष्टि जनाउँदै उनले प्रतिशोध र बदला होइन, संवाद र सहकार्यको बाटो रोज्नुपर्ने धारणा राखे।
भट्टराईले कानुनी राज्य र विधिको शासनमाथि उपहास स्वीकार्य नहुने उल्लेख गर्दै घटनाको न्यायिक, निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्ने बताए। उनले एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका नेता लेखकको गिरफ्तारीको निन्दा गर्दै अविलम्ब रिहाइको माग गरे।
साथै, जनताबाट प्राप्त जनादेशको दुरुपयोग नहोस् भन्नेतर्फ सरकारको ध्यानाकर्षण गराउँदै उनले पार्टी संयम र धैर्यताका साथ एकताबद्ध भएर प्रतिकूल परिस्थितिको सामना गर्ने उल्लेख गरेका छन्।






