देउवाकाे घरमा फेला परेको रकममा आयोगद्वारा कानुनी छानबिन सिफारिस

काठमाडौं । भदौ २३ गते संसद् भवन परिसरमा भएको गोलीकाण्ड र त्यसको भोलिपल्ट भदौ २४ गते भएका हिंसात्मक घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरमा भेटिएको रकमबारे गम्भीर प्रश्न उठाएको छ।

आयोगले आफ्नो प्रतिवेदनमार्फत देउवाको घरमा आक्रमण हुँदा फेला परेको जलेको वा नजलेको अवस्थाको रकमबारे कानुनबमोजिम विस्तृत अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ।

भदौ २४ गते प्रदर्शनकारीहरूले पूर्वप्रधानमन्त्री देउवालगायत अन्य व्यक्तिका घरमा आक्रमण गर्दा त्यहाँ ठूलो मात्रामा नगद फेला परेको विषय बाहिरिएको थियो। उक्त रकमको स्रोत र अवस्थाबारे थप स्पष्ट हुनुपर्ने भन्दै गौरी बहादुर कार्की नेतृत्वको आयोगले यसलाई कानुनी अनुसन्धानको दायरामा ल्याउनुपर्नेमा जोड दिएको हो।

आयोगले भदौ २३ गते तत्कालीन सरकारले निहत्था युवा प्रदर्शनकारीमाथि गरेको दमनको बदलामा मात्र भदौ २४ का घटनाहरू भएका हुन् भनेर मान्न नसकिने निष्कर्ष समेत निकालेको छ।

छानबिनका क्रममा आयोगले विभिन्न सरकारी, सार्वजनिक तथा निजी स्थानका सीसीटीभी फुटेज, श्रव्यदृश्य सामग्रीहरू र नेपाल टेलिकम एवं एनसेल जस्ता सेवा प्रदायकहरूबाट प्राप्त बीआईएस डेटालाई आधार मानेर गहन विश्लेषण गरेको प्रतिवेदनमा उल्लेख छ। उक्त दिन भएका तोडफोड, लुटपाट र आगजनीका घटनाहरूमा ‘जेन्जी’ प्रदर्शनका नाममा राजनीतिक दलका कार्यकर्ताहरू समेत संलग्न भएको आयोगको ठहर छ।

आयोगले आफ्नो प्रतिवेदन यसअघि नै सरकारलाई बुझाएपनि सार्वजनिक भने गरिएको छैन ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *